२०८३ श्रावण ८ गते, शुक्रबार ०१:४५
  • ५ लाख बढि विदेशी पर्यटकले गरे अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण

    दोब्बर बढे भारतीय


    पोखरा– गत आर्थिक वर्ष २०८२/८३ मा ५ लाख ८ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। जसमा सार्क राष्ट्रबाट ३ लाख ८४ हजार १४५ र अन्य मुलुकबाट १ लाख २४ हजार ३३१ जना रहेको अन्नपूर्ण संरक्षण कार्यालयका संरक्षण अधिकृत असिम थापाले जानकारी दिए।

    अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बर बढि विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा २ लाख ७८ हजार २१३ पर्यटक आएका थिए।पर्यटकहरु बढ्नुमा भारतीय पर्यटकको आगमन प्रमुख कारण हो। सार्क राष्ट्रबाट अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ लाख ५७ हजार ७८६ पर्यटक आएका थिए। गत आर्थिक वर्षमा भारतबाट मात्र ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटक आएका छन्।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले गर्मी मनाउन आउने भारतीय पर्यटकका कारण चहलपहल बढेको बताए। ‘भारतमा अहिले अत्याधिक गर्मी भएको, बैशाख जेठमा त्यहाँ विदा पनि रहिछ, युपी विहारबाट गर्मी मनाउन आउनेहरुको लागि नजिक पनि भएकाले भारतीय पर्यटकहरुको आगमन बढेको हुन सक्छ।’ उनले भने ‘भारतको लद्दाख, कस्मिर अलि अशान्त छ त्यहाँ पर्यटक गएका छैनन्। त्यसको प्रभाव पनि यता परेको हुनसक्छ। यहाँ आएकाहरुले टिकटक र रिल्स बनाइरहेका छन्। त्यसबाट प्रचार प्रसार नै भएको छ।’

    भारतपछि चिनबाट १२ हजार ५३९ जना र अमेरिकाबाट ९ हजार ८८४ जना आएको अन्नपूर्ण संरक्षण कार्यालयले जनाएको छ।
    जेठ महिनामा सबैभन्दा बढि १ लाख २७ हजार ४५९ जना विदेशी पर्यटकले भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ । त्यस्तै असारमा ६७ हजार ५८, चैत्रमा ६५ हजार २८१ र बैशाखमा ६५ हजार ७६४ जना विदेशी पर्यटक आएका छन्।