उद्घाटन भएको साढे ४ वर्षसम्म पनि अलपत्र

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ र २ मा शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) रहेको छ । बनबाटिका परिसरमा ११ तले तिलोत्तमा बहुउदेश्यि टावर (भ्युटावर) खडा भएको ४ वर्ष भन्दा बढि समय भइसकेको छ।
निर्माणको केही काम बाँकी छँदा २०७८ चैत १५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्युटावर उद्घाटन गरेका थिए। त्यसबेला उनले टावरमा चढेर वरपरको दृश्यसमेत हेरेका थिए।तर बनवाटिकाको उद्यान अवलोकन गर्न आएकाहरुले त्यसरी दृष्य नियाल्न पाएका छैनन्।
शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र वनबाटिकाका अध्यक्ष खिमलाल पाण्डेले भ्युटावर सञ्चालनमा आएमा बनवाटीकामा आकर्षण अझै बढ्ने अध्यक्ष पाण्डेको भनाइ छ। ‘११ तला माथिबाट बुटवल, तिलोत्तमा सहित पर परका दृष्यहरु देखिन्छ। पार्क अवलोकन गर्न आएका मध्ये कतिपय भ्युटावर चढ्न खोज्नुहुन्थ्यो। उनले भने यो सञ्चालनमा आयो भने राम्रो चल्ने र वनवाटिकामा चहलपहल अझै बढ्न सक्छ।’
भ्युटावर सञ्चालनको लागि तिलोत्तमा नगरपालिकाले पटक पटक टेण्डर आह्वान गर्दा पनि व्यवसायी आकर्षित भएका छैनन्।
२०७४ सालमा सम्झौता भएर २०७५ बाट बहुउदेश्यीय टावरको निर्माण सुरु भएको हो। तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत गरी ११ करोड लागतमा भ्युटावर निर्माण भएको हो। टावरको मुख्य भवन निर्माण सकिन लाग्दा दोस्रो चरणमा बाहिरी संरचना तयार गर्ने योजना तय भयो। गार्डेन, वाटर फाउण्टेन, पार्किङ, वाल लगाउने आदि काम गर्नुपर्ने हुन्थ्यो । दोस्रो चरणको संरचना निर्माणको लागि संघिय सरकारको पर्यटन पूर्वाधार कार्यक्रम मार्फत ६५ प्रतिसत र तिलोत्तमा नगरपालिकाले ३५ प्रतिसत साझेदारी गर्ने गरि काम सुरु भयो।
दोस्रो चरणको काम सुरु भएसँगै २०७८ फागुनमा भ्यु टावर सञ्चालनको लागि अनुपमा इन्जिनियरिङ कन्स्ट्रक्सनसँग सम्झौता भएको छ। सञ्चालन गरेबापत उसले बार्षिक ३९ लाख ७५ हजार रुपैयाँ तिलोत्तमा नगरपालिकालाई बुझाउनु पथ्र्यो। संघिय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन पूर्वाधार अन्तर्गतको आउनुपर्ने बजेट निकै थोरै मात्र आयो। बाँकी बजेट रोकिएपछि निर्माण कम्पनीले दोस्रो चरणको काम अघि बढाएन। संघको बजेट नआएपछि तिलोत्तमा नगरपालिकाकै बजेटबाट ढिलो गरि गत वर्ष मात्र दोस्रो चरणको काम सम्पन्न भयो।
भ्यु टावर सञ्चालनको लागि ठेक्का पाएको कम्पनीले सञ्चालनको अवधि ३ वर्ष थप्न माग गर्यो। टावरको बाहिरी संरचना अर्थात दोस्रो चरणको काम सकिन ३ वर्ष ढिला भएको र भ्युटावर सञ्चालन गर्न नपाएको भन्दै अवधि थप्न उसले माग गर्यो। २०८८ असार मसान्तसम्म सञ्चालन अवधिको सम्झौता भएपनि २०९२ सम्म माग गरेको थियो।
त्यसपछि तिलोत्तमा नगरपालिकाले भ्यु टावर सञ्चालनको लागि नयाँ सुचना निकाल्यो। ४ वर्ष पछि अर्को सूचना निकाल्दा बार्षिक ४५ लाख ५० हजारको न्युनतम मुल्य राखेर १५ वर्ष सञ्चालन अवधिको लागि टेण्डर आह्वान गरिएको थियो। तर २ पटक टेण्डर आहवान गर्दा पनि भ्यु टावर सञ्चालनको लागि कुनै पनि निजी क्षेत्र आएनन्। फेरि मुल्य कम गरि ३९ लाख ५० हजार न्युनतम मुल्य राखेर अर्को पटक टेण्डर आह्वान गरिएको थियो। तर पनि भ्यु टावर सञ्चालनको लागि कोही व्यवसायी आकर्षित भएनन्।
पछिल्लो पटक टेण्डर आवहान गर्दा आर्थिक मन्दिको कारण देखाउँदै व्यवसायीले मुल्य कम गर्न भन्दा पनि सञ्चालन अवधि बढाउन माग गरेका थिए। १५ वर्षमा प्रतिफल नआउने, २५ वर्षसम्मलाई सम्झौता भएमा टावर सञ्चालनको लागि तयार भएको व्यवसायीको भनाइ थियो। ‘टावरको भवन भित्र सरसजावटको लागि थप लगानी हुने, ५ वर्ष मार्केटिङ गर्न लाग्ने, बाँकी १० वर्षमा लगानी उठ्न गाह्रो हुन्छ।’ भनेर निजी क्षेत्रले भन्ने गरेका छन्।
२५ वर्षको लागि सञ्चालनको सम्झौता गर्दा कानूनी जटीलता आउने हो कि भनेर आफूहरुले अर्को विकल्पको बारेमा विचार गरिरहेको तिलोत्तमा नगरपालिकाका राजस्व शाखा प्रमुख इन्द्रदत्त सापकोटाको भनाइ छ। ‘२५ वर्ष अवधि राख्न नगरपालिकालाई गाह्रो हुने, १५ वर्ष राख्दा निजी क्षेत्र नआउने भएकाले भ्यु टावर सञ्चालन प्रक्रिया अड्केको छ।’ उनले भने ‘पछि आर्थिक अवस्था सहज हुन सक्छ। २५ वर्षलाई दिँदा कानूनी प्रश्न उठ्ने हो कि जस्तो लाग्छ। सिन्कीको भाउमा चलाउन दियो भनेर नगरपालिका आलोचित हुनुपर्ने अवस्था आउन सक्छ।’ त्यसैले सोझै २५ वर्षको सम्झौता गर्नुभन्दा अरु कानूनी निकास निकाल्ने प्रयास भएको सापकोटाको भनाइ छ।
केही दिन अघि शंकरनगर वनविहार अनुसन्धान केन्द्र बनवाटिकाको टोलीले भ्युटावर सञ्चालनको माग गर्दै तिलोत्तमा नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो। नगरप्रमुख रामकृष्ण खाँणलाई भेटेर निर्माण सम्पन्न भएको लामो समयसम्म भ्यू टावर सञ्चालनमा नआउँदा नगरपालिकाको राजस्व गुमेको र जनमानसमा नकारात्मक सन्देश फैलिएको जानकारी गराएका थिए। तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले पटक पटक टेण्डर गर्दा पनि व्यवसायी नआउँदा भ्यू टावर सञ्चालनमा ल्याउन नसकेको बताएका थिए। मेयर खाणले दसैंसम्ममा एउटा निकास निकालेर भ्यु टावर सञ्चालनमा ल्याउने बताएका थिए।
शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र वनबाटिकाका अध्यक्ष खिमलाल पाण्डेले नीजि क्षेत्र चलाउन नआए बनवाटीकालाई चलाउन दिन आग्रह गरेका थिए। ‘टेण्डर निकाल्दा नीजि क्षेत्र नआएपछि हामीले वनवाटिकलाई चलाउन दिन आग्रह गरेका थियौं। अहिले तिलोत्तमा नगरपालिका र बनवाटीका मिलेर एउटा कार्यविधि बनाएर सञ्चालन गर्नु पर्छ कि भन्ने कुरा उठेको छ।’ उनले भने ‘दसैैसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। नगरपालिकाले हामीलाई त्यही भनेको छ।’

