
लुम्बिनी- ग्रेटर लुम्बिनी सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन असोजको पहिलो साता हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको आयोजना तथा संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युनेश्को, विश्व बैंक र लुम्बिनी विकास बैंकको सहयोग र सहकार्यमा असोज २ गतेदेखी ४ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।
लुम्बिनी बौद्ध विश्व विद्यालयको सभाहलमा हुने ३ दिने सम्मेलनमा बृहत लुम्बिनी क्षेत्रलाई सांस्कृतिक–सम्पदा गन्तव्यको रूपमा संरक्षण र दिगो व्यवस्थापनका बारेमा गहन छलफल हुने छ। वृहत लुम्बिनी क्षेत्रमा बुद्ध जन्मस्थल लुम्बिनीसँगै नवलपरासी पश्चिमको रामग्राम, रुपन्देहीको देबदह, कपिलवस्तुको तिलौराकोट सहितका बुद्धिष्ट साइटहरु पर्दछ। यी बुद्धस्थलहरुको विकास, प्रवद्र्धन, समुदाय लक्षित कार्यक्रमहरु बारे सम्मेलनमा छलफल तथा परामर्श हुने छ।
सम्मेलनमा बौद्ध समुदायका अन्तर्राष्ट्रिय प्रतिनिधि, भिक्षु तथा विज्ञहरुको साथै राष्ट्रिय व्यक्तीत्व तथा स्थानिय समुदायहरुको समेत सहभागीता रहने युनेस्कोकी कार्यक्रम संयोजक एलिना ताम्राकारले जानकारी दिइन्। भौतिक रुपमा सहभागी हुन नसक्नेहरु अनलाइन फम भरेर भर्चुअल रुपमा समेत सहभागीता जनाउन सक्ने उनले बताइन्।
सन् १९९८, २००४, २००९, २०१८ मा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलन आयोजना भएको थियो। यो त्यसकै शिलसिला भएको लुम्बिनी विकास कोषका सुचना अधिकृत राजन बस्नेतले जानकारी दिए। ‘यसलाई बौद्ध सम्मेलन नभनिए पनि सोही स्तरको अन्तर्राष्ट्रिय कार्यक्रम हो। अहिले बृहत लुम्बिनी क्षेत्रको विकास र प्रवद्र्धनमा केन्द्रित देखिएको छ।’ उनले भने। पर्यटकीय सिजनको सुरुवातमा आयोजना गर्न लागिएको यो सम्मेलनले लुम्बिनीको थप प्रवद्र्धन हुने पर्यटक बढ्ने आशा गरिएको छ।

