२०८१ आश्विन २१ गते, सोमबार १३:०७
  • पर्यटनको प्रवद्र्धन तथा विकास गरि युवा पलायन रोक्नुपर्छ

    नेपालमै पर्यटनमा सम्भावना र अवसर खोजी गर्न विद्यार्थीलाई आग्रह

    बुटवल – पर्यटकीय विकास मार्फत अब युवा पलायन रोक्नुपर्ने पाल्पाको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ। विकास र समृद्धिको आधार पर्यटन भएको भन्दै यो क्षेत्रमा नयाँ पुस्तालाई पनि आकिर्षित गर्नुपर्ने व्यवसायी, सम्बद्ध सरकारी अधिकारी र सरोकारवालाहरुले जोड दिएका छन्।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाटा लुम्बिनीको आयोजना र एम्स कलेजका विद्यार्थीको समूह काउन्सील अफ एम्स स्टुडेन्टको अग्रसरतामा लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना विषयक अन्तरक्रिया भएको थियो। विश्व पर्यटन दिवसको सन्दर्भमा लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा आयोजना भएको कार्यक्रममा सहभागीहरुले पर्यटकहरुलाई आकर्षित गर्न ऐतिहासिक, पुरातात्वीक, सांस्कृतिक र प्राकृतिक स्थलहरुको पहिचान गरि ति ठाउँको पर्यटकीय विकास गर्नुपर्ने उल्लेख गरे।

    नाट्टा लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले अब पर्यटकीय गतिविधिहरु बढाउन आवश्यक भएकाले विद्यार्थीहरुसँग पनि पर्यटन सम्बन्धी कार्यक्रम आयोजना गरिएको बताइन्। उनले विद्यार्थीहरुलाई यस सम्बन्धी खोज र अध्ययनमा लागी नेपालमै अवसर खोज्न आग्रह गरिन्।

    एम्सका क्याम्पस प्रमुख दिपक ढकालले नियमित अध्ययन बाहेक विद्यार्थीहरुको व्यवसायीक क्षमता विकास होस भनेर कलेजका तर्फबाट पर्यटन सम्बन्धी कार्यक्रम गरेको जानकारी दिए।

    कार्यक्रममा प्रमुख अतिथी तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो गाउँपालिका र सिंगो पाल्पा पर्यटकीय हब भएकाले यहाँको पर्यटकीय विकास गर्न सके थुप्रै भारतीय पर्यटकहरुलाई आकर्षित गर्न र भुलाउन सकिने बताए। उनले युवा पुस्ताहरुलाई पर्यटन क्षेत्रमा सम्भावना खोज्न पनि आग्रह गरे।

    बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वलप्रसाद कसजुले पर्यटन क्षेत्र चलायमान भएमा यही रोजगारीको सम्भावना बढ्ने भन्दै विदेश जाने सोंच त्याग्न विद्यार्थीहरुलाई आग्रह गरे। युवा पुृस्ता बाहिरिने क्रम बढेमा मुलुकको आर्थिक अवस्था अझ कम्जोर हुने उनले उल्लेख गरे। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटल र पर्यटन क्षेत्रमा दक्ष जनशक्तीको आवश्यक रहेको भन्दै विदेश जाने सोँच नबनाउन विद्यार्थीहरुलाई अनुरोध गरे।

    नाट्टा पाल्पाका सस्थापक अध्यक्ष प्रदीप उदयले पाल्पामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान भएको र ट्रेकिङ तथा हाइकिङको समेत आनन्द लिन सकिने उल्लेख गर्दै भ्रमण गर्न आग्रह गरे। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक अरुण सिंहले विद्यार्थीहरुले पर्यटनहरुमा अवसर भएकाले अवसरको खोजी गर्न बृत्ति विकास गर्न अभिप्रेरित गरे।

    लुम्बिनी केबलकारका विभागिय प्रमुख रुपेस पौडेलले आन्तरिकसँगै मुलुक बाहिरका पर्यटकलाई आकर्षित गर्ने उदेश्यले केबलकार स्थापना गरिएको भन्दै पाँच तारे होटल लगायत अरु संरचना निर्माण हुने उल्लेख गरे। नाट्टा लुम्बिनीकी सदस्य सिता बस्यालले आँफू केही वर्ष विदेश बसेपनि पछि आएर नेपालमै पर्यटन व्यवसायमा आबद्ध भएको सुनाइन्। नाटा लुम्बिनीका सदस्य बरुण ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समिक्षा गरे।

    सो अवसरमा विद्यार्थीहरु सरिता चौधरी, संगित शेरचन, द्रिष्टीना राना र महिमा कुर्मीले पर्यटकीय सम्भावनाका बारेमा आफ्ना धारणा राखेका थिए।

    कार्यक्रममा लुम्बिनी पर्यटन प्रर्वद्र्धन परिषदका प्रशासकिय अधिकृत बालकृष्ण गैरे, उच्च सरकारी वकिलको कार्यालय सूचना प्रविधि अधिकृत बुद्धि पराजुली लगायत नाट्टाका पदाधिकारी तथा सदस्य, एम्स कलेजका प्राध्यापक तथा कर्मचारीहरु लगायतको सहभागीता थियो। त्यस्तै एम्स कलेजमा बिबिएस तेस्रो वर्षमा तर्फ लुम्बिनी प्रदेश प्रथम भएकोमा नगद सहित पुरस्कृत गरिएको थियो।