२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • डेढ घण्टा लुम्बिनीमा रहँदा के-के छन् महासचिव गुटेरेसको कार्यक्रम

    ‘भ्रमणले शान्तिको सन्देश प्रवाह र पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुर्याउँछ’


    सानुराजा साक्य
    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखराबाट मंगलबार विहान भैरहवा आइ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुन्छ। भैरहवाबाट हेलिकप्टरमा विहान ९ बजे लुम्बिनी आइपुग्नुहुन्छ। लुम्बिनीको शान्तीदीप भएर मायादेवी मन्दिरमा आउनुहुन्छ। मायादेवी मन्दिरमा दर्शन गरेपछि यहाँ परिसरमै ब्रिफिङ गर्ने कार्यक्रम छ।

    राष्ट्रसंघका महासचिवज्युले यहाँ दीप प्रज्वलन गनुहुनेछ। त्यसपछि पत्रकार समुदायलाई शान्तिको सन्देश प्रवाह गर्ने कार्यक्रम छ। बृक्षारोपण गर्ने कार्यक्रम पनि छ। त्यसपछि उहाँ काठमाडौँ फर्किनुहुन्छ। लुम्बिनीमा महासचिवको झण्डै डेढ घण्टा जतिको बसाइ हुन्छ।

    लुम्बिनीको विश्वव्यापीकरण भएको राष्ट्रसंघको सक्रियतामा हो। जब राष्ट्रसंघका तत्कालिन महासचिव ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा आउनुभयो। त्यसपछि लुम्बिनीको गुरुयोजनाको परिकल्पना र योजनाबद्ध विकास गर्ने सुरुवात राष्ट्रसंघबाट भएको हो। त्यसकारण लुम्बिनी र संयुक्त राष्टसंघको सम्बन्ध अहिलेको मात्र नभइ धेरै पुरानो हो। लुम्बिनीको अहिलेको स्वरुप बनेको भनेकै राष्ट्रसंघको योगदान हो। त्यसैले लुम्बिनी र राष्ट्रसंघकोबीचमा अन्योन्यासित सम्बन्ध रहेको छ।

    बुद्धजन्मस्थल लुम्बिनी शान्तिको सन्देशको मुहान हो। विश्वका कतिपय युद्ध र हिंसा भएका छन्। यस्तो युद्ध रोक्नको लागि राष्ट्रसंघको भूमिका ठूलो हुन्छ। यो बेलामा राष्ट्रसंघका सर्वोच्च पदमा रहेका व्यक्तीले लुम्बिनीमा आएर शान्तिको सन्देश दिनु भनेको संसारमा अर्कै प्रभाव पार्छ। राष्ट्रसंघको महासचिव लुम्बिनीमा आउँदा विश्वव्यापी रुपमा एक खालको सन्देश जान्छ। त्यसले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटकको आगमन पनि अपेक्षकृत बढ्छ। यो भ्रमणले शान्तिको लागि सकारात्मक सन्देश प्रवाह हुन्छ र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सघाउ पुर्याउँछ।

    (कुराकानीमा आधारित)