२०८१ आश्विन २१ गते, सोमबार १३:०६
  • तिलौराकोटलाई विश्वसम्पदामा सूचीकृत गरेरै छाड्छौंं : पर्यटन मन्त्री किराँती

    लुम्बिनी-संस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्दै विश्वसम्पदा सूचीमा सुचीकृतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। उनले तोकिएकै मितिमा तिलौराकोटलाई सूचीमा राखिने दाबी गरे। कपिलबस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले गौतबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्व विश्वव्यापी बनाउने उल्लेख गरे।

    तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन कार्यक्रम भइरहेको छ।
    संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्यसरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो।

    लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले असोज १४ गते लुम्बिनीमा प्रधानमन्त्रीको बिशेष पहलमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनी भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीको उचाई विश्वमा एक पाईला माथि उठेको बताए। सो अवसरमा संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सुचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्व रहेको बताउँदै विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए। ‘तिलौराकोट विश्वसम्पदा सूचीमा सुचिकृत हुने कुरा हाम्रो लागि खुशीको कुरा हो, विज्ञहरुले निकै समय खर्चिएर प्रमाणहरु जुटाउनुभएको छ’ उनले भने। आफूले पदभारग्रहण गरेलगत्तै तिलौराकोटको भ्रमण गर्दा झाडी र बुट्यानले ढाकेका देखेपछि सरसफाई गरी अहिले तिलौराकोटलाई सुन्दर बनाउने काम गरेको समेत उपाध्यक्ष डा. लामाले बताए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने कुरा सकरात्मक रहेको बताउँदै आफुहरुको तर्फबाट सक्दो सहयोग हुने बताए । कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कुनैबेला कपिलबस्तुलाई राज्यले हेरेन भनेर आफै साईकल यात्रामा निस्केको स्मरण गर्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकरणका लागि अन्तिम तयारी हुँदा निकै खुशी लागेको सुनाए। बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आफुहरुका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए।

    संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणि सुवेदीले यूनेस्को विश्व सम्पदा सूचीमा सुचिकृतका लागि सरकारकाले सबै पहल र कामहरु गर्ने बताउँदै दीर्घकालिन व्यवस्थापनका लागि स्थानीय सरकार र कपिलबस्तुका सबै जनप्रतिनिधिहरुको साथ सहयोगको खाँचो रहने उल्लेख गरे। कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्राधानाङ्गा, लुम्बिनी प्रदेश सरकार उद्योग पर्य६न तथा यातायात व्यवस्था मन्त्रालयका सचिव उमेश ढुंगाना, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले बोल्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतको सम्पूर्ण प्रमाण र आधार सहित अन्तिम दस्तावेज तयार पार्ने विज्ञटोलीलाई धन्यवाद दिए।

    तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि गत सेप्टेम्बरमै प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेको छ। प्रस्तावित मनोनयनका सम्बन्धमा प्राप्त सुझाव र विज्ञहरुसँगको छलफलबाट अन्तिम मनोनयन तयार गर्ने कार्य अन्तिम चरणमा छ । उक्त अन्तिम मनोनयन लुम्बिनी विकास कोषका तर्फबट नोभेम्बर ३० भित्र पुरातात्व विभाग हँुदै मन्त्रालयमा पठाउने र आवश्यक पृष्ठपोषणपछि यूनेस्को विश्व सम्पदा केन्द्रमा सन् २०२४ को जनवरी २४ भित्र पेश गर्नुपर्नेछ।

    अन्तिम मनोनयन दर्ता भएपछि इभ्यालेशन मिशन, इकोमस सहितले सन् २०२४ सम्म अध्ययन गर्ने र सन् २०२५ मा विश्व सम्पदा समितिमा तिलौराकोटलाई सूचीकृतका लागि प्रस्ताव लगिने प्रवाधान रहेको अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलले बताए। कार्यशालामा सम्पदा विशेषज्ञ डा. मार्सल, प्रो. डा. रविन कनिङहमले कपिलबस्तुमा हालसम्म भेटिएका प्रमाण र विश्व सम्पदा सूचीमा सुचीकृतका आधारहरुबारे जानकारी गराएका थिए।

    अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलको उपस्थितीमा अन्र्तराष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअल, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, यनि जोशी, पुरातत्व विभागका प्रवक्ता रामबहादुर गुरुङ, निर्देशक समितिका सदस्य सचिव एंव कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहितको विज्ञ समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काममा संलग्न भएका हुन्।

    यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको बैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो। विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलबस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत कामहरु गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक राईले जानकारी दिए।

    सरकारले २०७८÷७९ को नीति तथा कार्यक्रम मार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो। यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।