२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै प्रदर्शन

    अब प्रदेश सरकारले आन्दोलनको नेतृत्व गर्छ: लुम्बिनीका गृहमन्त्री पाण्डे

    भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानको माग गर्दै भैरहवामा विरोध प्रदर्शन भएको छ। सिद्धार्थ सञ्जाल रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न संघ–संस्थाहरुको सहभागीता रहेको थियो।

    देवकोटाचोकबाट सुरु भएको ¥याली बैंकरोड, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेश सरकारले नेतृत्व लिएर भएपनि भैरहवाबाट अन्तराष्ट्रिय उडान गराएरै छाड्ने बताए।
    “अब २४ बाट निरन्तर विभिन्न कार्यक्रम हुने छन्। त्यसमा प्रदेश सरकारले नेतृत्व गर्ने छ। सरकारमै रहेर अन्तराष्ट्रिय विमानस्थलमा आन्दोलन गर्ने जानकारी गराउन चाहान्छु।” उनले भने ” दिल्लीका मुख्यमन्त्री केजरीवाल  दिल्लीको अधिकारको लागि सडकमा गएर आन्दोलन गर्न सक्छ भने अन्तराष्ट्रिय एयरपोर्टको लागि सन्तोष पाण्डे पनि सडकमा आएर आन्दोलन गर्छ।”

    पाण्डेले सरकारबाट हटेर आन्दोलन गर्नुपरे पनि तयार रहेको दाबी गरे। जबसम्म अन्तर्राष्टिय उडान हुँदैन तबसम्म आन्दोलनबाट पछि नहट्न उनले आग्रह गरे।
    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सरकारको आँखा नखुलेसम्म आन्दोलन जारी रहने भन्दै आन्दोलनलाई कम नठान्न आग्रह गरे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १–१ मिनेटमा उडान हुनुपर्नेमा उनको भनाइ छ।
    लुम्बिनी प्रदेश सभासदस्य देवी प्रसाद चौधरीले विमानस्थल सञ्चालनले सबैलाई लाभ हुने बताए। अर्कि प्रदेशसभा सदस्य हेमा बेल्बासे (के.सी.)ले सरकार सुतेजस्तो गरेको भन्दै आन्दोलन सफल पार्न सडकदेखि सदनसम्म आवाज उठाउने बताइन्।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले कुनै पनि अन्तर्राष्टिय उडान सञ्चालन हुन नसक्दा अरबौं लगानी गरेर होटल व्यवसायी धरासायी बन्दै गएको बताए ।
    नेपाल टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र बहादुर थापाले यो आन्दोलनले सार्थक रुपमा लिने र सबैको साथ रहने विश्वास व्यक्त गरे।

    नेपाल इञ्जिनियरिङ एशोसिशयन लुम्बिनी प्रदेशका अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठले डेढ करोड नेपालीले प्रयोग गर्नुपर्ने अन्तराष्ट्रिय विमानस्थल त्यसै थन्काइएको आरोप लगाए।
    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका महासचिव जे.पी. कंडेल, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्ले, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डे, सिद्धार्थ सञ्जाल, रुपन्देहीका सल्लाहकार डा. शान्त कुमार शर्माले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए।