२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • बुटवलमा लुम्बिनी एक्स्पो सुरु

    भैहरवाको अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसकेर सरकार असफल भयो : पौडेल

    बुटवल-बुटवलमा लुम्बिनी एक्स्पो सुरु भएको छ। रुपन्देही व्यापार संघको आयोजनामा विहिवारदेखि लुम्बिनी एक्सपो अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको हो। एक्सपोको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गरे। उनले बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने भन्दै उनले सरकार पूर्णरुपमा असफल भएको टिप्पणी गरे।

    बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भैरहेको भन्दै उनले सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको आरोप लगाए। लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताए।

    बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको उल्लेख गरे। उनले बुटवल आउने संघ र प्रदेशका सांसदहरुलाई विकासको मोडल बारे उपमहानगर आएर छलफल गर्न आह्वान गरे।

    कार्यक्रममा मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधी भण्डारीलगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका थिए । मेलाको १० लाख बढी दर्शक अवलोकन गर्ने र ५० करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ।