२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • तीन दिन बुटवलको सडकमै पाक्ने छ विभिन्न परिकार

    शनिबारबाट पाँचौ बुटवल सडक खाना महोत्सव सुरु हुँदै


    बुटवल– पाँचौ बुटवल सडक खाना महोत्सव पुस १४ गतेबाट सुरु हुँदै छ। अंग्रेजी नयाँ वर्ष सन २०२४ को अवसरमा १४ गतेदेखी १६ गतेसम्म बुटवल कालिकापथको तिनकुनेदेखि बसपार्कसम्मको क्षेत्रमा खाना महोत्सव हुन लागेको हो।होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा हुन लागेको सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो।

    महोत्सवमा विभिन्न प्रकृतिका सय वटा स्टल रहने संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए। ‘चार चार वटाका दरले थारु, थकाली र मगर परिकारहरु हुने छ । ‘७ वटा नेवारी र २ वटा गुरुङ परिकारका स्टलहरु राखिएको छ’ उनले भने ‘विभिन्न रेष्टुरेष्ट, पार्टी प्यालेश, मिष्ठान्न भण्डार र होटलहरुका गरि सय वटा स्टल रहने छ।’ महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक र सांगितिक प्रस्तुती रहने अध्यक्ष भण्डारीले जानकारी दिए।

    महोत्सवले पर्यटन प्रवद्र्धन, बजार चलायमान र बुटवलको कालिकापथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन बजार सञ्चालन गर्न टेवा पुग्ने संघले जनाएको छ। महोत्सव सञ्चालन गर्न २० लाख बढि खर्च लाग्ने अनुमान गरिएको छ।महोत्सवमा सरसफाइ, सुरक्षा र खाद्य स्वच्छतालाई विशेष ध्यान दिएको अध्यक्ष भण्डारीले बताए। ३ दिनसम्म साँझ ६ बजेबाट राती १२ बजेसम्म महोत्सव सञ्चालन हुने छ।

    खाना महोत्सवको डेढ लाख बढि दर्शकले अवलोकन गर्ने र २ करोड बढिको कारोबार हुने आयोजक होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अपेक्षा छ। महोत्सवको रुपन्देही ५ का सांसद बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन अघि दिउसो साँस्कृतीक पहिचान झल्किने झाँकी सहितको र्याली निकालिने पत्रकार सम्मेलनमा बताइएको थियो।

    नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्घन, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारालाई यो वर्ष आत्मसात गरिएको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए। महोत्सवको लागि मुल समिति सहित विभिन्न २९ वटा उपसमिति बनाइएको महासचिव अर्जुन थापाले बताए।