२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • लुम्बिनीमा उत्पन्न विवाद साम्य, मोरारी बापूद्वारा कथावाचन सुरु

    लुम्बिनी -लुम्बिनीमा भारतीय सन्त मोरारी बापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर उत्पन्न विवाद साम्य भएको छ । विवाद साम्यसँगै मंगलबारबाट कथावाचन पनि सुरु भएको छ ।
    मंगलबार लुम्बिनी विकास कोषमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा बसेको बैठकले चार बुँदे सहमति गरेसँगै विवाद साम्य भएको हो । बैठकमा लुम्बिनी गुरुयोजनाबमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मोरारी बापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ ।

    नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाती महासंघ रूपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र परामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन ।
    सहमती पत्रमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने, माघ २३ गते पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने उल्लेख गरिएको छ ।

    त्यसै गरी लुम्बिनीमा सञ्चालनमा भएको राम कथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीहरूले संवादका क्रममा राखेको सुझावलाई मध्यनजर गर्दै आयोजकहरूलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, संघ, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने, उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति भएको छ ।

    यसैविच मंगलबारबाट राम कथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन शुभारम्भ गरिएको छ । प्रवचन शुभारम्भमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, रुपन्देही निर्वाचन क्षेत्र न। ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, प्रदेशसभा सदस्य सिके गुप्ता, अर्का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय र स्थानीय तहका जनप्रपितनिधिहरुको उपस्थिती रहेको थियो ।

    नौ दिनसम्म चल्ने प्रवचनमा नेपालबाहेक भारतलगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएको स्थानीय आयोजक समितिका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिए ।

    कार्यक्रम स्थलमा दैनिक निशुल्क भोजनको व्यवस्था गरिएको छ । प्रवचनले लुम्बिनीको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारमा ठूलो टेवा पु¥याउने अपेक्षा गरिएको छ।