२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • पर्यटन बोर्डमा चिनिया फोटो प्रदर्शनी

    काठमाडौँ -नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी काठमाडौँमा सुरु भएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीनबिच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक सप्ताह तथा प्रदर्शनी सुरु भएको हो।

    नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु)फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने छ।

    फोटो प्रदर्शनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले नेपाल र चीनबिच लामो धार्मिक तथा संस्कृति सम्बन्ध रही आएको भन्दै प्रदर्शनीले दुई देशबिचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। नेपाल स्थित चिनियाँ दूतावासका काउन्सिल से यू ले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले प्रदर्शनी महत्त्वपूर्ण भएको उल्लेख गरे।

    कार्यक्रममा नेपाल चीन फ्रेन्डसीप फोरमका अध्यक्ष डा। कल्याणराज शर्मा, नाराका अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफी एसोसिएसनका अध्यक्ष ली जाङ मिङ, फोटो पत्रकार महासङ्घका अध्यक्ष हरि प्रसाद रेग्मी लगायतले यस प्रकारको फोटो दुवै देशमा आयोजना गर्न सके पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गरे। फोटो प्रदर्शनीमा साङदोेङ प्रान्तका विभिन्न ६० वटा तस्बिर राखिएका छन्।