२०८१ आश्विन २१ गते, सोमबार १५:२०
  • खुम्जुङ युवा क्लबलाई ‘खुम्बु ल्होसार कपको उपाधी

    काठमाडौं – चौधौं संस्करणको खुम्बु ल्होसार कप फुटबल प्रतियोगीताको उपाधि खुम्जुङ युवा क्लबले हात पारेको छ। सोमबार भएको फाइनल खेलमा महेन्द्र ज्योती भूपु विद्यार्थी मंचलाई २ – ० ले पराजित गर्दै खुम्जुङले उपाधि उचालेको हो। उपाधिसँगै उसले नगद एक लाख सहित रनिङ सिल्ड, मेडल, प्रमाण–पत्र प्राप्त गरेको छ। उपविजेता महेन्द्र ज्योती भूपु विद्यार्थी ५० हजार रुपैया, तेस्रो भएको खुम्बु यम्बु शेर्पा समाजले २५ हजार रुपैया प्राप्त गरेका छन्।

    प्रतियोगितामा बेस्ट स्ट्राइकर खुम्जुङ युवा क्लबका फुरा छिरिङ शेर्पा, बेस्ट मिडफिल्डर खुम्बु यम्बु शेर्पा समाजका मिङ्मा तामाङ, बेस्ट डिफेन्डर खुम्जुङ युवा क्लबका लाक्पा रिता शेर्पा, बेस्ट गोलकिपर खुम्जुङ युवा क्लबका फुर्वा गेल्जेन शेर्पा, बेस्ट प्लेयर महेन्द्र ज्योती भूपु विद्यार्थी मंचका निग्मा तेम्बा शेर्पा, इमर्जिङ प्लेयर डमीछोवा फुटबल टिमका छिरिङ रिता शेर्पा र सबैभन्दा बढि गोल गर्ने खेलाडी ठमिछोवा फुटबल टिमका केसाङ छिरिङ शेर्पा भएका छन्।

    माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो। ८ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १६ खेल संचालन भएका थिए भने ८ टिमले सहभागीता जनाएका थिए। प्रतियोगितामा ठमिछोवा फुटबल टिम, नाम्चे युवा समूह, खुम्जुङ युवा क्लब, आमाडब्लम युवा क्लब, खुन्दे कम्युनिटी क्लब, महेन्द्र ज्योती भूपु विद्यार्थी मंच, खुम्बु यम्बु शेर्पा समाज र खुम्बु भेटेरेन्स क्लब सहभागी थिए।

    शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ वर्षदेखि प्रतियोगिता आयोजना हुँदै आएको हो । सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच यो प्रतियोगीता हुने गर्दछ। शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई एकआपसमा जोड्ने उद्देश्य खेलको आयोजना गरिएको आयोजकले बताएको छ।

    १४ औँ संस्करणको ‘खुम्बु ल्होसार कप’ प्रतियोगिताको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन्। सन् २०१० मा कोशी प्रदेश सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका विद्यार्थीहरुको छाता संगठन शेर्वी योदेन छोक्पाले शेर्पाहरुको महान पर्व ल्होसारको पवन अवसरमा खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता सुरुवात गरेका थिए।