२०८३ जेष्ठ २६ गते, मंगलवार ०२:००
  • मौसम र महोत्सवले तानसेन घुम्ने उपयुक्त बेला

    सुदीप भण्डारी

    तानसेन– जाडो यामपछि बसन्त रितु सुरु हुँदै छ। पहाडी गन्तव्यहरुमा घुम्ने यो उपयुक्त मौसम पनि हो। पाल्पाको तानसेनले पनि घुम्नको लागि पर्यटकहरुलाई यतीबेला निम्तो गरिरहेको छ। अहिले तानसेन भ्रमणको लागि मौसम उपयुक्त छ। अर्को तर्फ महोत्सवले पनि तानसेनको रौनकता थपेको छ।

    पाल्पाको सदरमुकाम तानसेन एउटा बजार मात्र नभइ आँफैमा पर्यटकीय गन्तव्य पनि हो। सिद्धार्थ राजमार्गमा यात्रा गर्दा तानसेन बजारको सुन्दर दृष्य देख्न सकिन्छ। बजार प्रवेश गरेपछि पनि विभिन्न सम्पदाहरुको अवलोकन गर्न पाइन्छ।
    यहाँ धार्मिक, ऐतिहासिक, सास्कृतिक र प्राकृतिक गन्तव्यहरु छन्। तानसेन बजारमै ऐतिहासिक पाल्पा दरबार रहेको छ। जुन खड्ग शमशेरले निर्माण गरेका हुन्। पछि यो दरबार पुनर्निर्माण गरिएको थियो।

    दरबार नजिकै कर्नेल उजिरसिंह थापाले निर्माण गरेको रणउजेश्वरी भगवती मन्दिर छ। यो मन्दिरसँगै भगवतीको जात्रा पनि जोडिएको छ। जुन कृष्णजन्माष्टमीको भोलीपल्ट निकाल्ने गरिन्छ। अमरसिंह थापाले बनाएको अमरनारायणको कलात्मक मन्दिर पनि रहेको छ। बग्गीढोका, मुलढोका, सितलपाटी लगायतका ठाउँले तानसेनलाई ऐतिहासिक पहिचान दिएको छ। केही मौलिक सैलीका घर, ढुंगा छापिएको सडक र गल्लीले पनि तानसेनलाई आकर्षक बनाएको छ।

    बजार क्षेत्रमै अन्य थुप्रै पुराना मठ मन्दिर र सम्पदाहरु रहेको तानसेन नगरपालिकाका पर्यटन समिति संयोजक तथा ६ नम्बर वडाका अध्यक्ष सागरमान महर्जनले बताए। ‘बजारमा धेरै पुराना मठ मन्दिर छ। दुई ठाउँमा भिमसेन मन्दिर छ। लक्ष्मी नारायण मन्दिर, श्रीनगर गणेश मन्दिर, टक्सार र मखनटोलको गणेश मन्दिर रहेका छन्।’ उनले भने ‘पुरानो आनन्द विहार, असनटोलमा शाक्यहरुले चुडाकर्म गर्न स्थापना भएको विहार, मुश्लिम समुदायको मस्जित र पुराना चर्च पनि यहाँ छ।’ काठमाडौँ जस्तै तानसनेमा पनि पुराना बस्ती भएका टोलहरु छन्। भिमसेन टोल, मखन टोल, नारायण टोल, असनटोल यहाँका पुराना बस्ती तथा टोल हुन्।

    पाल्पाली ढाका उद्योग, करुवा तानसेनको पहिचान हुन्। तानसेन बजारबाट केही उचाइमा श्रीनगर डाँडा रहेको छ। १३७२ मिटरको उचाइमा रहेको श्रीनगरमा फागुनदेखी बैशाखसम्म निकै चहलपहल हुने गर्दछ। यहाँबाट हिमश्रींखलाहरुका साथै, फाँट र बस्तीहरुका मनोरम दृष्य नियाल्न सकिन्छ। ऐतिहासिक रानीमहल र धार्मिक स्थल रिडीको ऋषिकेश मन्दिर पनि तानसेन नगरपालिकामै पर्छ। मुलुकका विभिन्न ठाउँबाट आएका पर्यटकहरु तानसेन बजार हुँदै रानीमहल, रिडी र भैरबस्थान पुग्ने गर्दछन्। तानसेन आसपास विभिन्न हिल स्टेसन र प्राकृतिक गन्तव्यहरुले पनि आएका पर्यटकहरुलाई भुलाउने गर्दछ।

    फागनु १९ गतेबाट तानसेन महोत्सव सुरु भएको छ। टुँडीखेलमा जारी महोत्सव २९ गतेसम्म चल्ने छ। महोत्सवका बेला घुम्न आउनेहरुले पाल्पा र यहाँको पहिचानलाई थप जान्न पाउने छन्। महोत्सवमा स्थानिय उत्पादनका प्रदर्शनी र मौलिक संस्कृतिहरु प्रस्तुत गरिने तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले बताए। ‘महोत्सव स्थलमै माटाका भाँडा बनाउँदै गरेको देख्न सकिन्छ, ठेकी बनाएको र तान मार्फत ढाकाका कपडाहरु तयार गरेको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ।’ उनले भने ‘पाल्पाको मौलिक कला संस्कृतीहरु महोत्सवमा प्रस्तुत हुने छ। साथै लोप हुन लागेको कला र संस्कृतिहरुको प्रस्तुती रहने छ।’

    महोत्सवमा पाल्पाका पर्यटकीय स्थलको बारेमा जानकारी दिने स्टल पनि राखिएको छ। जसबाट पाल्पाका विभिन्न ठाउँ र यहाँका गन्तव्यहरुको बारेमा जानकारी लिन सकिन्छ। घुम्न पनि सहज हुने छ। पुस- माघमा हुस्सु नलागी घाम लाग्ने, जेठमा पनि धेरै गर्मी नहुने तानसेन घुम्नको लागि मौसम अनुकुल छ। तर पनि चैत र बैशाखमा तानसेनमा पर्यटकहरुको चहलपहल बढ्ने समय हो।

    महोत्सव पनि चलेको र मौसमका कारण पनि यो बेला पाल्पा घुम्नको लागि उपयुक्त समय हो। घुम्न आउनेहरुको लागि तानसेनमा सानादेखी ठूला स्तरिय होटल र रिसोर्टहरु रहेका छन्। त्यसै गरि पर्यटन व्यवसायीहरुले पनि पर्यटकको सेवा सुविधाको विभिन्न प्याकेज बनाएका छन्।