२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • लुम्बिनीमा सात दिने नेचर गाइड तालिम सम्पन्न

    लुम्बिनी -सात दिने नेचर गाइड तालिम लुम्बिनीमा सम्पन्न भएको छ। पर्यटन परिषद लुम्बिनीको आयोजना तथा राष्ट्रिय प्रकिृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको प्राविधिक सहयोगमा फागुन १६ गतेबाट तालिम सुरु भएको हो।

    तालिमको समापन कार्यक्रममा पर्यटन परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले कार्यविधि तयार भएपछि सहभागीहरुलाई प्रदेशले गाइडको लाइसेन्स उपलब्ध गराउने बताए। ३ वर्षको अवधिको लाइसेन्स हुने र आधिकारिक टुर गाइडको मान्यता पाउने उनले जानकारी दिए। छिट्टै बुद्धिष्ट सर्किट टुर गाइडको तालिम आयोजना गर्न गइरहेको पनि जोशीले बताए।

    होटल एशोसिएन लुम्बिनीका महासचिव पुरुषोत्तम अर्यालले पर्यटकहरुको बसाइ लम्बाउन गाइडहरुको भूमिका महत्वपूर्ण हुने भन्दै तालिममा सहभागीको सफलताको कामना गरे। कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रशिक्षक उमेश पौडल र चारविद रामबहादुर शाहीले तालिम प्रदान गरेका थिए। तालिममा २६ जना सहभागी थिए।

    सहभागीहरुलाई लुम्बिनी जगदिसपुर ताल लगायतका ठाउँमा फिल्ड भिजिट गराइएको थियो। परिषदकी मार्केटिङ अधिकृत सुनिता चौधरीले विभिन्न पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराएकी थिइन्। तालिममा सहभागीहरुले आ आफ्ना अनुभव आदानप्रदान गरेका थिए।