२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • १९ देशका राजदुत रुपन्देहीमा, लुम्बिनीको अवलोकनसँगै पर्यटन र लगानीका सम्भावना बारे छलफल हुने


    बुटवल-नेपाललाई हेर्ने १९ जना गैरआवासीय राजदुतहरु रुपन्देही आइपुगेका छन्। रुपन्देहीमा विहिबारबाट परराष्ट्र मन्त्रालयको आयोजनामा समृद्धिको लागि शान्ति विषयमा अन्तराष्ट्रिय सम्मेलन सुरु हुँदै छ। कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटन मन्त्री हितबहादुर तामाङ सहभागी हुने कार्यक्रम छ। सम्मेलनमा सहभागी हुन गैरआवासीय राजदुत,अबैतनिक बाणिज्यदुतहरु, उच्च सरकारी अधिकारी पर्यटन क्षेत्रका विज्ञ रुपन्देही आएका हुन्। राजदुतहरुले आजै बुटवल र बसन्तपुर जोड्ने लुम्बिनी केबलकारको अवलोकन गरेका छन्।

    तिलोत्तमामा रहेको टाइगर प्यालेश होटलमा हुने सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू, उच्च अधिकारी र विज्ञहरु सहभागी हुनेछन्। शुक्रबार राजदुतहरुले बुद्धजन्मस्थल लुम्बिनीको अवलोकन गर्नेछन्।

    लुम्बिनीमा नेपालको पर्यटन र लगानीको सम्भावना बारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राइले जानकारी दिए। दिल्ली लगायत अन्य ठाउँबाट नेपाललाई हेर्ने राजदुतहरु हुनुहुन्छ। नेपालको पर्यटन र लगानीको सम्भावनाका बारेमा नेपालसँगको सम्बन्धलाई सुदृढ पार्ने विषयमा एउटा कार्यक्रम हुन लागेको हो । उनले भने उहाँहरुले लुम्बिनीको अवलोकनसँगै यहाँको सम्भावना बारे छलफल हुने छ। सम्मेलनले यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य उज्वल कसजुले जानकारी दिए।