२०८१ आश्विन २१ गते, सोमबार १३:०३
  • मायादेवी मन्दिरमा आधुनिक प्रविधि गजुर राखियो

    लुम्बिनी- लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ । गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
    मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिईएको छ । यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए ।

    गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाईएको छ । यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो । बाँदरले हल्लाउदा ढल्कने, पार्टपूर्जाहरु खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रती कोषका सदस्य सचिव शाक्यले धन्यवाद दिए । गजुरसँगै बुद्ध जन्मस्मारक ९मार्कन स्टोन०को कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।
    मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगर स्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीबृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताए । उनका अनुसार दाताले बुद्धप्रती श्रद्धा राखेर गजुर स्थापना गरेका हुन ।
    आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताए । नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आर्कषक देखिएको छ ।