२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • नेपाल पर्यटन बोर्ड ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ बाट सम्मानित

    काठमाडौं– चीनको ग्वाङ्जाओमा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’ प्रदान गरिएको छ। ग्वाङ्जाओ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जिआइटिएफ) २०२४, मा सो अवार्ड प्रदान गरिएको हो ।
    मे १६ देखि सुरू भएको ग्वाङ्जाओ अन्तर्राष्ट्रिय ट्राभल फेयरमा बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको सहभागिता रहेको छ। कोभिड महामारीपछि जिआइटिएफमा नेपालको यो पहिलो सहभागिता हो।

    सो अवसरमा पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले नेपालको पर्यटन सम्भाव्यताबारे प्रस्तुति दिएका थिए। नेपालको प्रमुख पर्यटकीय स्रोत चीन रहेको अवस्थामामा नेपालको सहभागिताले पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने बोर्डले अपेक्षा गरेको छ।

    जेठ ३ देखि ५ (मे १६ देखि १८) सम्म सञ्चालन भएको फेयरमा पाटा नेपाल च्याप्टरले चाइना आउटबण्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) बाट ‘ओभरअल परफरमेन्स अवार्ड’ र ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) बाट ‘बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।

    नेपालबाट सहभागी जुगल हलिडेजले मेलामा ‘गोल्ड अवार्ड फर प्रोडक्ट इनोभेसन’ प्राप्त गरेको उक्त कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका अधिकृत प्रदीप गैरले जानकारी दिए ।