२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • पार्किङका लागि मात्र आउँछन् भैरहवामा विदेशी जहाज

    मंगलबारदेखी गौतम बुद्ध विमानस्थलमै छ युक्रेनको जहाज

    भैरहवा-नियमित उडान नभएपनि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङका लागि भने विदेशी जहाज आउने गरेका छन् । काठमाडौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने केही जहाज पार्किङको लागि भैरहवा आउने गर्दछन्। भैरहवामा जहाजको लागि नेभिगेसन, ल्याण्डीङ र पार्किङ निशुल्क छ। त्यसकारण पनि केही दिन समय पार्किङ गर्नुपर्ने जहाज भैरहवा आउने गरेका हुन्।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले युक्रेनको स्काइ अप एयरलाईन्सको जहाज पार्किङ गरिरहेको छ। चार्टड उडानको लागि काठमाडौँ आएको युक्रेनको स्काइअप एयरलाइन्सको जहाज मंगलबार पार्किङको लागि भैरहवा आएको विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले जानकारी दिए। विमान ५ दिन भैरहवामै पार्किङ गर्ने गरि आएको उनले बताए। काठमाडौँमा ठाउँको अभाव भएकाले पनि पार्किङको लागि जहाजलाई भैरहवा पठाइने गरिएको छ।

    त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका ११ वटा जहाज मात्र पार्किङ गर्न मिल्छ। त्यसैले केही दिन पार्किङ गर्नुपर्ने चार्टर जहाजलाई भैरहवा पठाउने गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए। ‘हामीसँग भएको पार्किङ स्लटमा जहाज आउने भइरहन्छ। त्यहाँ लगातार जहाज राखीराख्दा त्यो ठाउँमा अरु जहाजले पार्किङ गर्न पाउँदैन। यहाँ निर्माणको काम भइरहेकाले पनि ठाउँ पुग्दैन।’ उनले भने ‘भैरहवामा खाली भएकाले त्यहाँ पठाउँछौं। सेडुयल जहाज त यही आउँछ। चार्टर जहाज आएर प्यासेन्जर र कार्गो झारेर फर्किहाल्यो भने ठीकै छ। तर केही दिन बस्ने गरि जहाज आयो भने भैरहवा पठाउँछौं।’

    उद्घाटन भएको दुई वर्ष भइसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सकेको छैन। हाल नेपाल बायुसेवा निगमनको जहाजले मलेसिया भैरहवा काठमाडौँ एकतर्फी उडान गरेको छ। त्यो बाहेक अरु कुनै अन्तर्राष्ट्रिय उडान छैन।