२०८३ जेष्ठ २६ गते, मंगलवार ०२:२१
  • निनीचौर झरना जहाँ गर्मी छल्न आउनेहरुको भिड लाग्छ

    पाल्पा-पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ मा झरना छ। झरनासँगै पोखरी पनि छ। गर्मी याममा झरनामा नुहाउन र पौडी खेल्न आउनेहरुको भिड हुने गर्दछ। रुपन्देहीको सालझण्डी बजारबाट उत्तर तर्फ ढोरपाटन सडक हुँदै १० किलोमिटर यात्रा गरेपछि निनिचौर झरना पुग्न पुगिन्छ।

    सनिवार र सार्वजनिक विदाका दिन झरना हेर्न र नुहाउन जानेहरुको लस्करै लाग्ने गर्छ। युवा पुस्ताहरु समूह बनाएर झरनामा नुहाउन आउने गरेका छन्। युवा मात्र होइन परिवार सहित पनि यहाँ आउँछन्। सैनामैना आसपासबाट मात्र होइन बुटवल, कपिलबस्तुका विभिन्न ठाउँ र सिमापारि भारतबाट समेत गर्मी छल्न झरनामा आउने गरेको पर्यटन व्यवसायी तथा झरना रिसोर्टका सञ्चालक हरि पोखरेलले बताए। ‘सालझण्डीमै कति गर्मी छ। त्यहाँबाट अलिकती यात्रा गरेर आउँदा यहाँ सितल छ।’ उनले भने सितलताको अनुभव गर्न र झरनामा नुहाउन भारतबाट समेत यहाँ आइरहेका छन्।

    लुम्बिनी पर्यटन परिषदका सदस्य समेत रहेको पोखरेलले निनीचौर झरनाको संरक्षण तथा विकासका लागि संघ सरकारबाट पनि बजेट परिरहेको बताए। ‘नेपाल सरकारको पर्यटन मन्त्रालयबाट २०७७ ७८ मा २० लाख ७८ ७९ मा ४५ लाख र ७९ ८० मा १० लाख बजेट विनियोजन भएको थियो।’ उनले भने ‘राष्ट्रपति चुरे संरक्षणबाट २० लाख विनियोजन भएको थियो । आउने बजेटबाट थप काम हुन्छ।’ पोखरेलले झरना क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रयास भइरहेको बताए।

    रैनादेवी छहरा ८ का वडाध्यक्ष रेमबहादुर रानाले झरना क्षेत्रको विकास र प्रवद्र्धनको योजना अघि बढिरहेको बताए। ‘त्यहाँ केही पूर्वाधार बनाएर व्यवस्थीत गर्न सकिन्छ। बर्खामा बाढि आयो भने क्षति पुर्याउँछ।’ उनले भने ‘कटान पनि रोक्ने गरि काम गर्न हामीले प्रयास गरिरहेका छौं।’

    झरनाकै नामबाट नजिकै रिसोर्ट पनि सञ्चालन भएको छ। झरना रिसोर्टमा हाल ७ वटा कोठा रहेका छन्। रिसोर्टमा आएका पाहुनाहरु शान्त वातावरणमा रमाउन सक्छन्। झरनामा रमाउन आएका पाहुनाहरुको सुविधाको लागि रिसोर्ट सञ्चालन गरिएको रिसोर्ट सञ्चालक हरि पोखरेलले बताए।