२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृतको स्थलगत अध्ययन गर्न अगष्टमा युनेस्कोको टोली आउने

    नोभेम्बरसम्ममा सूचीकृतको घोषणा हुने

      

    बुटवल- प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्ट महिनामा नेपाल आउने भएको छ । तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ । दस्तावेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आउन लागेको कोषका सदस्य सचिव सानुराजा  शाक्यले जानकारी दिए । स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको उनले बताए ।  

    नेपाल सरकारको आर्थिक वर्ष २०७९/२०८० तथा २०८०/२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्तावेज तयार गरी पेस गरिएको हो ।

    फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्तावेज संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को) को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाएका हुन् । फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रुपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ ।