२०८३ बैशाख २३ गते, बुधबार १७:४८
  • दियालो बंगला सर्वसाधारणका लागि खुला

    भरतपुर-चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिएको छ। भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दरबार आइतबार खुला गरिएको हो। विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो।

    दियालो बंगलाको खुला गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए। चितवन जिल्ला जैविक, धार्मिक र अध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रुपमा परिचय बनाउन सफल भएको उनको भनाई छ। देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने मन्त्री तमाङले विश्वास व्यक्त गरे।

    यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा लिएका दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै पुरा भएको बताइन्। नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन्।

    भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा २०२८ सालमा राजा महेन्द्रको निधन भएको थियो। ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए। राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ।