२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • लुम्बिनी केबलकारको मर्निङ अफर, भदौ मसान्तसम्म सोमबार विहानको टिकट ५०० मात्र


    बुटवल -लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म ‘मर्निङ अफर’ ल्याएको छ। यो अफर अनुसार पर्यटक र भक्तजनहरुले सोमबार विहान केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयां मात्र तिरे पुग्छ। केबलकारको साधारण टिकट दर एक हजार रुपैयां छ। ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए।

    गत वर्ष यो अफर अत्यधीक सफल भएको र अहिले पनि पर्यटकहरुको माग अनुसार यो वर्ष पनि अफर ल्याएको कम्पनीले जनाएको छ। छुटको लागि १२ बजेसम्म टिकट खरिद गर्नुपर्ने र लिएपछि १२ बजेपछि सांझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाइने अपरेसन म्यानेजर कायस्थले बताए। सो बाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ।
    यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र यो वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ।

    साउन महिनामा बसन्तपुरको टप स्टेशनमा महादेव शिवको वाहन नन्दी समेत रहेकाले जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीको भनाइ छ। मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरुले ५ सय रुपैया भारुमा टिकट खरिद गर्न सक्ने केबलकारका म्याजेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए। लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार २०८० जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ।