२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • बुटवलबाट बसन्तपुर र नुवाकोट जोड्ने केबलकारको निर्माण तिब्र

    बुटवल -पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण भइरहेको हो ।
    पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर र वडा नं २ को नुवाकोटगढी जोड्न तिनाउ नदीको वारिपारी बेस स्टेशन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणको काम तीव्र पारिएको छ । तिनाउ नदीको पूर्वमा सिद्धार्थ राजमार्गसँगै बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेशन रहेको लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ–३ वसन्तपुरमा राखिने छ ।
    वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित त्यसको आधारका रुपमा केबलकार निर्माण गर्न लागिएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन्।

    यसले पाल्पाको वसन्तपुर क्षेत्रमात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने उनको भनाइ छ।

    साढे तीन अर्ब बढी लगानीमा निर्माण भइरहेको लुम्बिनी केबलकार आगामी वर्ष वैशाखसम्म सम्पन्न गर्नेगरी काम भइरहेको छ। यहाँ आउने पर्यटकलाई बसाउनका लागि रिसोर्ट, पाँच तारे होटल र उद्यानसहितका संरचना बनाउने काम भइरहेको छ । पाल्पाको वसन्तपुर डाँडामा एक सय ५० कोठासहितको पाँचतारे होटल बन्दै छ ।

    त्यस्तै तिनाउ नदी पश्चिममा पूर्वपश्चिम राजमार्गसँगै मणिमुकुन्द सेन उद्यान ९फूलबारी०को उत्तरतर्फको शिखर देउराली वनमा आधार स्टेशन रहेको सिद्धार्थ केबलकारले पाल्पाको ऐतिहासिक एवं पुरातात्विक महत्वको नुवाकोटलाई जोड्नेछ। यो केबलकारको पनि आधार स्टेशन शिखर देउराली र पाल्पाको तिनाउँ गाउँपालिका–२ नुवाकोटमा पूर्वाधार निर्माणको कामलाई तीव्र बनाइएको छ । सिद्धार्थ केबलकारले सुविधा सम्पन्न रिसोर्ट बनाइरहेको छ ।

    त्यस्तै यहाँ बसपार्क बाल उद्यान, पर्यटन सूचना केन्द्र, शान्ति उद्यान, गुम्बा, भ्यूटावर, स्वास्थ्य केन्द्रलगायत संरचना बन्नेछन् । यो केबलकारको तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७७ फागुन ९ गते शिलान्यास गरेका थिए।

    एक दशमलव ९४ किमी लम्बाइको सिद्धार्थ केबलकारमा शिखर देउराली वनमा रहेको बेस स्टेसनबाट नुवाकोट डाँडामा आठ मिनेटमा पुग्न सकिनेछ । नियमितरुपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार यात्रु ओहरदोहर गर्न सक्ने सिद्धार्थ केबलकारका अध्यक्ष ई राजेन्द्रसिंह गुरुङले बताए। उनका अनुसार यो केबलकार अबको करिब सात महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

    केबलकार निर्माणसँगै रुपन्देहीले दुई ठूला पर्यटकीय गन्तव्य पाउन लागेको उल्लेख गर्दै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले केबलकार सञ्चालनमा आए यहाँको आर्थिक गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गरे।