२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • बुटवलमा उजिरसिंह फल्चा निर्माण

    बुटवल -बुटवलमा सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले उजिरसिंह फल्चा निर्माण भएको छ। बुटवल उपमहानगरपालिकाले वडा नम्बर ५ हाटबजार लाइनको उत्तरतर्फ फाल्चा निर्माण गरेको हो।

    उजिरसिंह फल्चाको सोमबार उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको पूरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उदेश्यले फल्चा निर्माण गरिएको बताए। ‘नेवार संस्कृतिको संरक्षणका लागि फल्चा निर्माण गरिएको हो’ उनले भने ‘अरु जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारीहरु, विश्रामस्थलहरु निर्माण गरिनेछ।’ पाण्डेले बुटवलमा सार्वजनिक स्थलहरुमा विश्रामस्थलहरु, शौचालय, पिउने पानीको व्यवस्था गर्ने गरी योजना अगाडि बढाएको बताए। बुटवलका मुख्य स्थलहरुमध्ये बसपार्कलाई सुधार गर्ने, मुख्य चोक चौराहाहरुमा उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने, मुख्य सडकहरुको दायाँबायाँ हरियाली बनाउने जस्ता कामहरु निरन्तर भइरहेको उनले उल्लेख गरे।

    उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्नयोग्य शहरका रुपमा स्थापित गर्ने उदेश्यका साथ सार्वजनिक स्थलहरुको संरक्षण र प्रवर्द्धन गर्ने बताइन्। उनले बुटवललाई सबै जातजातिको अपनत्व हुने गरी संरचनाहरु निर्माण भएको उल्लेख गरिन। नगर प्रवक्ता शिव राना र वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला संस्कृतिका क्षेत्रमा सबैलाई समेटेर लैजानका लागि यस्ता संरचना निर्माण गरेको बताए।