२०८१ आश्विन २१ गते, सोमबार १३:१२
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बारे निर्णय, निजी क्षेत्रद्वारा शंकाको सुविधासहित स्वागत


    काठमाडौँ -गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारको पछिल्लो निर्णयलाई निजी क्षेत्रले शंकाको सुविधा सहित स्वागत गरेको छ। शिद्धार्थ होटल एशोसिएन सानले बुधबार विज्ञप्ती जारी गर्दै बैदेशिक रोजगारीका लागि सबै संयन्त्र भैरहवामै उपलब्ध हुने निर्णयको स्वागत गरेको हो।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि श्रम स्विकृती सहित स्वास्थ्य परिक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिमकेन्द्र, कल्याणकारीको सामाजिक सुरक्षा कोष, विमा, प्रहरीले दिने चारित्रीक प्रमाणपत्र लगायतका सेवाहरु भैरहवामै उपलब्ध हुने निर्णय गरेको थियो। केही समय अघि सरकारले थाइ एयर एसियालाई भैरहवाबाट हप्तामा ४ उडानको अनुमती दिएको थियो।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहुँदा लामोसमयसम्म नीजि क्षेत्र निराश भएको अवस्थामा ढिलै भएपनि पछिल्लो प्रयासलाई स्वागत गरेको सानका अध्यक्ष सिपी श्रेष्ठले बताए। उनले सरकारका यी निर्णय तत्काल कार्यान्वयन हुनुपर्ने भन्दै छिमेकी र बुद्धिष्ट मुलुकहरुमा नियमित उडान थाल्नुपर्ने उल्लेख गरे। ‘हाम्रो माग तत्काल दैनिक उडान हुनुपर्छ भन्ने हो। सरकारले गरेका निर्णयलाई स्वागत गर्दै नेपाल बायुसेवाबाट भएपनि भैरहवा दिल्ली, भैरहवा श्रीलंका, भैरहवा चिन लगायत बुद्धिष्ट मुलुकहरुमा नियमित उडान हुनुपर्छ भन्ने हाम्रोे माग हो।’ श्रेष्ठले भने ‘यसका साथै सरकारले अन्य मुलुकसँग सहमती, सहकार्य र पहलकदमी गरि अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीलाई भैरहवामा आकर्षित गर्न निरन्तर लाग्नुपर्छ।’

    सरकारले गरेका निर्णयमा शंका गर्ने ठाउँ पनि रहेको भन्दै विगतका कतिपय निर्णय र प्रयास अलपत्र भएको श्रेष्ठको भनाइ छ।’विगतमा गरेका कैयौं निर्णय अलपत्र परेका हाम्रा सामु छर्लंग छ। त्यसैले अहिलेको निर्णय पनि कतै अलपत्र त पर्ने होइन। यो हामी समग्र निजी क्षेत्रले गर्ने शंकाको सुविधा हो।’ उनले भने ‘गौतम बुद्ध विमानस्थललाई फूलफेजमा सञ्चालन गरेर पर्यटन व्यवसायी सहित समग्र निजी क्षेत्रमा नयाँ हौसला सिर्जना गर्न हार्दिक अनुरोध गर्दछौं।’ विमानस्थल नचल्दा अर्बौ लगानी जोखिममा भएको भन्दै निजी क्षेत्रलाई उकास्न र पर्यटकीय विकासका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन हुनुपर्ने श्रेष्ठले बताए।