२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • तान्सेनमा आज २०५ औं भगवती जात्रा, राष्ट्रपति पौडेल सहभागी हुने


    तानसेन -पाल्पाको तानसेनमा आज भगवती जात्रा हुँदै छ। प्रत्येक वर्ष कृष्णाजन्माष्टमीको भोलीपल्ट तानसेनमा भगवती जात्रा निकाल्ने गरिन्छ। भगवती जात्रालाई तानसेनमा ठूलो उत्सवको रुपमा मनाइन्छ। यस पटकको जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल समेत सहभागी हुने कार्यक्रम छ। जात्रामा पहिलो पटक राष्ट्रप्रमुखको उपस्थिती हुन लागेको भगवती जात्रा गुठी समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए।

    राष्ट्रपति पौडेलसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे पनि भगवती जात्रामा सहभागी हुने उनले बताए। भगवती जात्रामा यो पटक १० हजार बढिले अवलोकन गर्ने आशा गरिएको छ।
    तलिका अनुसार सवा १० बजे राष्ट्रपति पौडेल तानसेनमा अवतरण हुनुहुनेछ। ११ बजे भगवती मन्दिर प्रवेश गर्नुहुने छ। आधा घण्टाजति पुजा आजा गर्नुहुनेछ। १२ बजे अमरनारायण मन्दिरको रथ उठाउने कार्यक्रम छ।

    अमर नारायणको रथ भगवती मन्दिर पुगेपछि भगवतीको रथयात्रा सुरु हुने तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले जानकारी दिए। नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा भगवती जात्रा निकाल्ने गरिन्छ। भगवती जात्राको अवसरमा तानसेन नगरपालिकाले सार्वजनिक विदा दिएको छ।