२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • संघिय र सातै प्रदेशका पर्यटन मन्त्री पोखरामा, विषयगत समितिको बैठक आज

    पोखरा-पर्यटन सम्बन्धी विषयगत समितिको बैठक आजबाट पोखरामा सुरु हुँदै छ। संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका पर्यटन मन्त्री सहभागी हुने छन्।

    संघ प्रदेश र स्थानिय तह (समन्वय तथा अन्तरसम्बन्ध) २०७७ को दफा २२ को उपदफा १ मा सम्बन्धीत मन्त्रीको अध्यक्षतामा विषयगत समिति रहने प्रावधान छ। सो बमोजिम संघिय र प्रदेशका पर्यटन मन्त्रीहरु सम्मीलित विषयगत समितिको बैठक बस्न लागेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले जानकारी दिइन्।

    बैठकमा विगतमा भएका निर्णयको समिक्षा गर्नुका साथै नयाँ पर्यटन नीति उपर छलफल हुने छ। त्यस्तै सफा हिमाल अभियान रणनीतिक योजना कार्यान्वयन सम्बन्धमा तहगत सरकारको भूमिका, पदमार्ग व्यवस्थापन, होटल अनुगमन तथा व्यवस्थापन बारे पनि बैठकका एजेण्डा रहेको छ। नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र प्रदेश मन्त्रालयबाट आवश्यक सम्झेका अन्य विषयमा समेत विषयगत समितिको बैठकमा छलफल हुने लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए।