२०८१ पुष ३ गते, बुधबार १२:३५
  • सकियो लुम्बिनी महोत्सवः ३ लाखले अवलोकन, १० करोड कारोबार

    प्रदेशका पर्यटनमन्त्री भन्छन् : भैरहवाबाट दैनिक ५० अन्तर्राष्ट्रिय उडान हुनुपर्छ

    भैरहवा- रुपन्देहीको भैरहवामा आयोजित नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा सम्पन्न भएको छ। सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म १२ दिनसम्म महोत्सव संचालन भएको थियो। महोत्सवमा क्रेता–विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन्।

    महोत्सवको समापन समारोहमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सबै उत्पादनको एकै थलोमा प्रदर्शनी गरिँदा आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए। उनले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै ऐन, कानून सुधार र परिमार्जन गरेर भए पनि पर्यटकीय वातावरण बनाउनुपर्नेमा जोड दिए।
    मन्त्री न्यौपानेले गौतमबुद्ध विमानस्थलमा दुईचार वटा जहाज उड्दैमा केही नहुने भन्दै कम्तिमा दैनिक ५० विमान उडान–अवतरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए। ‘हामीले पर्यटनका कुरा गर्छौं, अर्बौं खर्चिएर बनाएको विमानस्थलमा विमान उड्दैनन्। नाकाका पर्यटकलाई सास्ती दिइन्छ’, उनले भने, ‘अब सुधार गरौं । पर्यटकमैत्री वातावरण बनाऔं । सबैले म–म भनेर काम गरे समस्या समाधान हुन्छ ।’ उनले विश्वका धेरै मुलुकले पर्यटनबाटै समृद्धि हासिल गरेको जनाउँदै नेपालले पनि यसका लागि काम गर्नुपर्ने बेला आएको जनाए। भैरहवामा आयोजित महोत्सवले निजी क्षेत्रमा आशाको संचार पैदा गरेको आफूले पाएको उनले बताए ।

    नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले विशिष्टिकृत मेलामहोत्सवले आर्थिक गतिविधिलाई बढवा दिने जनाए। उनले राजनीतिक स्थिरता नहुँदा उद्योगी–व्यवसायी, आमनागरिकले समस्या भोगिरहेको जनाउँदै यस्तै अवस्था रहे सरकार पनि कठिन मोडमा पुग्न सक्ने बताए । लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले अहिले निजी क्षेत्र निराश बनिरहेको जनाउँदै पर्यटनका माध्यबाट यसलाई माथि उकास्नु पर्नेमा जोड दिए ।

    ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिकेको संघले दावी गरेको छ। महोत्सव समापनको अवसरमा बोल्दै संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मेलामा आन्तरिक र भारतीय गरी करिब ३ लाख दर्शकले अवलोकन गरेको र १० करोड रुपैयाँको कारोबार भएको बताए।

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुसाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले स्वदेशी उत्पादनको प्रबद्र्धन र विकासका लागि महोत्सव कोशेढुंगा सावित भएको उल्लेख गरे। संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले नाफा कमाउने नभई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको जनाए ।

    संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सवमा मुलुकका ४० जिल्लाका उत्पादन प्रदर्शनी गरिएको बताए। समापनको अवसरमा र्याली, स्टल, भैरहवा आइडल, भ्वाइस अफ भैरहवा, मेहन्दी प्रतियोगिता, विद्यालयस्तरीय नृत्यमा उत्कृष्ट भएकालाई नगदसहित पुरस्कृत गरिएको थियो । महोत्सवमा स्थानीय खाना र उत्पादनलाई विशेष प्राथमिकता दिएर प्रदर्शनी गरिएको थियो।