
बुटवल-आगामी आर्थिक वर्षमा घुमौं बुटवल अभियान सञ्चालन गरिने भएको छ। बुटवल उपमहानगरपालिकाले विहिवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा घुमौं बुटवल भन्ने अभियान अन्तर्गत बुटवल भ्रमण वर्ष घोषणा गरि आन्तरिक र बाह्य पर्यटक बृद्धि गर्ने उल्लेख छ। पर्यटकीय स्थलहरुको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरु निर्माण नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए।
बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा स्थापित गर्ने नीति कार्यक्रममा उल्लेख छ। बुटवलदेखि मुक्तिनाथ, लुम्बिनी, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, सुपादेउराली, रेसुंगा, पाल्पा, चितवन, त्रिवेणी, रिडी, भैरवस्थान, रानीमहल, आलमदेवी, सेतीवेणीजस्ता पर्यटकीय स्थलहरुसम्मको यात्रा तथा बुटवल–चितवन–पोखरा त्रिकोणिय पर्यटन प्रवद्र्धनका लागि आवश्यक अभियान सञ्चालन गरिने नगरसभामा बाचन गरिएको नीति कार्यक्रममा उल्लेख छ।
बुटवलका महत्वपूर्ण पर्यटकीय स्थलहरु जितगढी किल्ला, युद्ध संग्रहालय, पूरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, निलकण्ठबाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारु संग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने बताइएको छ। बुटवल–नुवाकोट क्षेत्रमा पैदलमार्ग निर्माण गरी शिवपार्कको रुपमा स्थापित नीति कार्यक्रममा भनिएको छ।
कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिने नगरप्रमुख पाण्डेले बताए। बुटवलका पर्यटकीय स्थलहरुको वृत्तचित्र निर्माण गरिने, टुर गाइड उत्पादन गर्ने, सम्पदा सूची तयार गर्ने, स्थानिय कला र संस्कृतिको संरक्षण गर्ने लगायतका कुरा नीति कार्यक्रममा समेटिएको छ।

