२०८२ फाल्गुन २३ गते, शनिबार १३:२३
  • बटौली क्षेत्रलाई धार्मिक र ऐतिहासिक गन्तव्यको रुपमा अघि बढाउँदै उपमहानगर

    पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ तिनाउ पारीको बटौली क्षेत्र

    बुटवल-बुटवलको मुख्य बजार भन्दा तिनाउ पारी उपमहानगरपालिकाको १ र २ नम्बर वडा पर्दछ । यो ठाउँमा बुटवलको पुरानो बजार बटौली क्षेत्र रहेको छ । यो ठाउँ बुटवलको ऐतिहासिक स्थान हो । ५ सय वर्ष अघि पाल्पाका राजा मणिमुकुन्द सेनले कस्मीरबाट कसौधनहरुलाई व्यापारका लागि यहाँ ल्याएका थिए । त्यस्तै पहाडबाट नेवार समुदायका मानिसहरु पनि बटौलीमा व्यापार गर्न झरेका थिए । १९९५ तिर मुस्ताङबाट थकाली समुदायका मानिसहरु आए ।

    कात्र्तिकदेखी फागुनसम्म बटौलीमा किनमेल गर्नेहरुको चहलपहल हुन्थ्यो । पहाडबाट कैयौं दिन हिडेर हाम्रा पुर्खाहरु किनमेल गर्न यहाँ आउँथे । पहाडबाट ल्याएको घिउ बटौलीमा बेचिन्थ्यो । घिउ प्रसोधन भएर भारतको बनारस लगायत विभिन्न ठाउँमा जान्थ्यो । यहाँबाट खाद्यान्न, नुन, तेल कपडा किनेर पहाडतर्फ लैजाने गरिन्थ्यो । बटौलीमा अहिले पनि पुराना सैलीका घरहरु, सम्पदा, मठ मन्दिर रहेका छन् । उत्तर तर्फ गणेश मन्दिर रहेको छ । त्यस्तै नारायणस्थान, निमचोक, कदमचोक, पद्मचैत्य विहार, बाघ भैरब, छेकइ भैरब, सुकुलबाबा मन्दिर, सहर्षधारा, जामे मस्जिद लगायतका यहाँका पुराना सम्पदाहरु हुन् । बुटवलको पुरानो नगरपालिका कार्यालय भएको स्थानमा अहिले बटौली संग्रालय निर्माण भएको छ । बुटवलको इतिहास र सम्पदाहरुको अध्ययन गर्नेहरुको लागि बटौली क्षेत्र महत्वपूर्ण गन्तव्य हुन सक्छ ।

    बटौलीको दक्षिण तर्फ नेपालले अंग्रेजलाई पराजित गरेको जितगढी किल्ला छ । २१० वर्ष अघि कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई यही ठाउँमा परास्त गरेका थिए । नेपाली सेनाले मर्मत सम्भार गरि जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । यो ठाउँमा ऐतिहासीक किल्लाका साथै युद्धको झल्को दिने प्रतिमाहरु राखिएको छ ।

    जितगढी नजिकै बटौलीबाट केही उचाइमा मणीमुकुन्द सेन उद्धान रहेको छ । जहाँ मणीमुकुन्द सेनको सितकालिन दरबारको भग्नावशेष छ । फुलबारी भनिने यो ठाउँमा मनोरम उद्यान रहेको छ । उद्यान भित्र चिडियाखाना समेत अवलोकन गर्न पाइन्छ । मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्क देशमै नाम चलेको उद्यान समेत हो । बर्षको ५ लाख बढि उद्यान अवलोकन गर्न आउने गरेका छन् । फूलबारी नजिकै सिद्धार्थ केबलकारको बटम स्टेसन छ । जहाँबाट केबलकार मार्फत नुवाकोट गढी पुग्न सकिन्छ । तिनाउ पारीका यी ठाउँलाई एकिकृत रुपमा पर्यटकीय विकास र प्रवद्र्धन गर्न सकिन्छ ।

    बुटवल उपमहानगरपालिकाले पुरानो बुटवल क्षेत्रलाई गुल्जार बनाउने योजना बनाएको छ । जितगढीदेखी गणेश मन्दिरसम्मको सडकलाई व्यवस्थीत गरिएको छ । त्यसमा सडक बत्ती र थप आकर्षक बनाउने काम अघि बढेको बुटवलका नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए । बटौली क्षेत्रका ४६ वटा घरलाई पुरानै सैलीमा निर्माण गर्न सहरी विकास मन्त्रालयको सहयोगमा अध्ययन भइरहेको छ । बुटवलबाट नुवाकोट साढे ३ किलोमिटर पैदलमार्ग निर्माण गर्ने काम पनि भइरहेको छ । बटौलीको युद्ध संग्रालयमा युद्ध सामाग्री राख्नको लागि तयारी भएको उपमहानगरले जनाएको छ ।

    जितगढी किल्लामा पर्यटन सूचना केन्द्र र क्याफे निर्माण भएको छ । जितगढीसँगैको तिनाउ किनारमा आरती केन्द्र निर्माण गर्न उपमहानगरपालिकाले काम अघि बढाएको छ । त्यसको लागि ५ करोड रुपैया विनियोजन भएको छ । उपमहानगरपालिकाको पहलमा बटौली क्षेत्रको लागि संघिय सरकारबाट पनि बजेट विनियोजन भएको छ । बटौली क्षेत्रको लागि तिनाउ तटबन्धनको लागि संघिय सरकारबाट ५ करोड, सातमन नारायण मन्दिरको पुननिर्माणको लागि ३ करोड, जामे मस्जितको लागि ३ करोड, जितगढीको लागि १ करोड २० लाख र संग्रालयको लागि १ करोड बजेट विनियोजन भएको छ ।

    बटौली क्षेत्रका घरहरु पुननिर्माणको लागि शहरी विकास मन्त्रालय मार्फत १७ करोड रुपैया विनियोजन गरिएको छ । जस अनुसार बटौली क्षेत्रको ४६ घरहरुलाई मौलिक सैलीमा निर्माण गर्ने गरि योजना अघि बढेको बुटवल १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले बताए । बटौलीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक ठाउँको रुपमा विकास गर्ने योजना रहेको बस्नेतको भनाइ छ ।