२०८२ फाल्गुन २३ गते, शनिबार १५:३३
  • उद्यान महासंघले संस्थागत विकास र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने


    बुटवल- नेपाल उद्यान महासंघले देशभरका उद्यानहरुको संस्थागत विकास, सम्बन्ध विस्तार र सहकार्यमा जोड दिने भएको छ । साथै एकिकृत राष्ट्रिय उद्यान नीति तथा कानून निर्माणमा पैरव गर्ने महासंघले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यही असार २५ गते नेपाल राष्ट्रिय उद्यान महासंघको संस्थागत दर्ता भएको थियो। महासंघ दर्ता भएपछि बुटवलमा सोमबार सुझाब संकलनको लागि अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

    कार्यक्रमा सहभागीहरुले महासंघ मार्फत पर्यटन प्रवद्र्धनमा भूमिका खेल्न, उद्यानलाई आत्मनिर्भर तथा रोजगारमुखी बनाउन सुझाब दिएका थिए। कार्यक्रममा नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुइँटेलले २०८० जेठ ६ र ७ गते बुटवलमा राष्ट्रिय उद्यान सम्मेलन भएको र त्यसले गठन गरेको उद्यान महासंघले कानूनी मान्यता पाएको बताए। उनले अब महासंघको संस्थागत विकास र सहकार्यलाई ध्यान दिँदै एकिकृत राष्ट्रिय उद्यान नीति तथा कानून निर्माणमा पहल गर्ने बताए। संविधान सभा सदस्य नेत्र पन्थीले संस्थाको स्थायित्व र उद्देश्यमा अडिग रही देशभरका उद्यानहरूलाई समेट्दै अघि बढ्न सुझाव दिँदै शुभकामना व्यक्त गरे।


    लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जलवायु परिवर्तनको सन्दर्भमा उद्यानहरूको महत्व झनै बढेको उल्लेख गर्दै तीन तहका सरकारसँग समन्वय गरी नीति, कार्यक्रम र कार्यान्वयनमा सक्रियता देखाउनुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईं, शंकरनगर वन विहारका अध्यक्ष खिमलाल पाण्डेय, हिलपार्क परिषद् अध्यक्ष टंक पराजुली, होटल व्यवसायी संघ रुपन्देही अध्यक्ष माधव खनाल,महासंघका सल्लाहकार डी. आर. घिमिरे, बिमला श्रेष्ठ, रमेश नेपाल, लगायतले आफ्ना भनाइ राख्दै उद्यानहरूलाई कला, संस्कृति, शिक्षा, पर्यावरण र पर्यटनसँग जोड्दै पहिचानयुक्त विकास गर्नुपर्ने सुझाव दिए ।

    देशभरका उद्यानहरूबीच सञ्जाल विस्तार, नीतिगत पैरवी, विभिन्न प्रकारका उद्यानहरूको वर्गीकरण र सम्वद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सूचना प्रकाशन, अनुसन्धान तथा तालिम सञ्चालन, उद्यानहरूको कानुनी व्यवस्थापन सहयोगजस्ता विषय समेटिएको महासंघका महासचिव बेलप्रसाद शर्माले जानकारी दिए ।