व्यवसायी भन्छनः पर्यटनलाई प्राथमिकतामै राखिएन, यतीबेलासम्म सुधारको योजना आइसक्नुपथ्र्यो

सुदीप भण्डारी
जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको एक महिना भन्दा बढि भइसकेको छ। तर मुलुकले पर्यटनमन्त्री पाउन सकेको छैन। अहिले ८ सदस्यीय मन्त्रीपरिषद छ। तर संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी अझै प्रधानमन्त्री सुशीला कार्कीसँगै छ। मन्त्रीले जस्तो प्रधानमन्त्रीले पर्यटनको समग्र पक्षमा ध्यान दिने अवस्था हुँदैन।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा थुप्रै होटलहरुमा तोडफोड र आगजनी भएको छ। आन्दोनल पछि पर्यटकको आगमन एक्कासी घटेको छ। तर संकटमा परेको पर्यटन क्षेत्रलाई सम्बोधन र सुधारको लागि अघि बढ्नुपर्ने आवश्यक छ। मन्त्री नहुँदा यी काम हुन सकेको छैन। अहिले पर्यटनलाई प्राथमिकता नदिएको पर्यटन व्यवसायीहरु बताउँछन्।
बुद्धपरिपथसँग कुरा गर्दै नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणी थपलियाले मन्त्री नहुँदा पर्यटन क्षेत्रको निती निर्माण र निर्णयमा प्रत्यक्ष असर परेको बताए। ‘अहिले प्रधानमन्त्री मातहत नै मन्त्रालय छ। उहाँले सबै तिर हेर्न सम्भव हुदैन, पर्यटनमन्त्री नुहँदा नितीगत निर्णय र निर्णयहरुको कार्यान्वयनमा ढिलाइ हुन्छ। मन्त्रालय सचिव र मातहतका अरु निकायबाट पनि गर्न सकिने कामहरु हुन्छ।’ उनले भने ‘तर मन्त्री हुनुहुन्न, मन्त्रीज्यु आएर काम गरौंला भन्ने सुविधा उहाँहरुलाई हुन्छ। सरकारको प्राथमिकता पनि पर्यटन जस्तो देखिएको छैन।’
होटल एशोसिएन नेपाल हानका अध्यक्ष विनायक शाहले प्रभावित भएको पर्यटन क्षेत्र सुधारको लागि यतीबेलासम्म पनि कुनै योजना बन्न नसकेको उल्लेख गरे। ‘विगतमा कोरोना, भूइँचालो पछि अब पर्यटन क्षेत्रलाई कसरी अघि बढाउने भन्ने एउटा योजना बन्थ्यो। त्यो अहिले बनेको छैन।’ उनले भने ‘अहिले पर्यटन मन्त्रालय प्रधानमन्त्रीले हेर्नुभएको छ। उहाँले कता कता ध्यान दिने हो। मन्त्रालयको नेतृत्व नहुँदा अफ्ठ्यारो हुँदोरहिछ।’
शाहले होटलमा भएको क्षति र आन्दोलनपछिको असरलाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्ने उल्लेख गरे। ‘हाम्रा थुप्रै होटल जलेको छ। नजलेका होटलमा पनि व्यापार छैन। सबै बुकिग रद्द छ यस्तो अवस्वस्थामा सरकारको भूमिका के हुन्छ।’ उनले प्रश्न गरे।
अहिले पर्यटन मन्त्रीमा विभिन्न व्यक्तीको चर्चा परिचर्चा भइरहेको छ। मन्त्रीमा को नियुक्त हुन्छ र कहिले हुन्छ अझै अनिश्चित छ। नाट्टाका केन्द्रीय अध्यक्ष थपलियाले चुनौति थपिएकाले पर्यटन बुझेको र छोटो समयमा धेरै काम गर्न सक्ने पर्यटन मन्त्री आउनुपर्ने धारणा राखे। ‘चुनावसम्म सरकारको सानो समय छ। पर्यटन बुझेको मान्छे आएमा छोटो समयमा पनि धेरै काम हुन्छ। नबुझेको आयो भने मन्त्रीको लागि मन्त्री हुने मात्र हो। पर्यटन क्षेत्र सुधारको लागि गाह्रो हुन्छ।’ उनले भने।
अबको पर्यटन मन्त्रीले पर्यटन मार्फत मुलुकलाई समृद्धितर्फ लैजाने, रोजगारी सिर्जना, विदेशी मुद्रा बढि भन्दा बढि नेपालमा भित्राउन भूमिका खेल्नुपर्ने थपलियाले बताए।
आन्दोलन पछि अहिले नेपालको अवस्था शान्त रहेको छ। तर अन्तर्राष्ट्रिय रुपमा गलत सन्देश गएकाले पर्यटक आगमनमा कमी आएको हानका अध्यक्ष शाहको भनाइ छ। नेपाल सुरक्षित छ भन्ने सन्देश दिएर पर्यटक आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने उनले उल्लेख गरे। ‘नेपालमा अहिले सुरक्षा व्यवस्था राम्रो छ। पर्यटकलाई घुम्न केही समस्या छैन। तर पर्यटक आएका छैनन्। डिसेम्बरसम्म भिसा फ्रि गर्दिउँ, यसो भयो भने हामीले केही बढि पर्यटक भित्राउन सक्छौं। मन्त्रीज्यु नहुँदा यस्ता काम गर्न ढिलाई भएको छ।’ शाहले भने।

