२०८२ फाल्गुन २३ गते, शनिबार ११:२१
  • उत्तरबाहिनीको धर्मोत्सवमा भक्तजनको भीड झन् बढ्दो

    पाल्पा – पाल्पाको असेर्दी र स्याङ्जाको मालुङ्गा बीचको पवित्र उत्तरबाहिनी क्षेत्र चलिरहेको धार्मिक महामेला अब एक हप्ता मात्रै चल्ने भएको छ।

    गत असोज २१ गतेदेखि सुरु भएको उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव यही कार्तिक १९ गतेसम्मका लागि मात्रै तय गरिएकाले अब एक हप्ता मात्र चल्ने भएको हो।

    एकमहिने धर्मोत्सव समापनको दिन नजिकिँदै गर्दा भक्तजनहरूको भीड पनि झन् झन् बढ्दै गइरहेको मूल आयोजक समितिका सह–सचिव नारायण भण्डारले जानकारी दिए।

    चर्चित युवा विद्वान आचार्य चैतन्यकृष्णको संकल्पमा भइरहेको धर्मोत्सवमा सवा लाख सालग्राम भगवानको एकैपटक दर्शन गर्न सकिने अनौठो अवसर प्रदान गरिएको छ।

    अहिलेसम्म आउन नभ्याएका भक्तजनहरूलाइ आगामी कार्तिक १९ गतेभित्र धर्मोत्सवमा सहभागी भई पुण्य तथा आध्यात्मिक आनन्द प्राप्त गर्न आचार्य चैतन्यकृष्णले आह्वान गरेका छन् ।

    सहसचिव भण्डारीका अनुसार विश्व इतिहासमै पहिलो पटक पाँच अर्ब तुलसीपत्रद्वारा सवा लाख सालग्राम भगवानको पूजन गरिँदैछ, जसले यस धर्मोत्सवलाई ऐतिहासिक बनाएको छ।

    धर्मोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वानहरूबाट धार्मिक तथा नैतिक प्रवचनहरू र धार्मिक सांगीतिक प्रस्तुतिहरू पनि मुख्य आकर्षकका रूपमा रहेका छन्।

    धर्मोत्सवमा टाढा टाढाबाट आएका दर्शनहरूलाई खाने र बस्ने व्यवस्था समेत गरिएको सहसचिव भण्डारीले बताए।

    कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा भइरहेको यो धर्मोत्सवमा दर्शनका लागि आएका श्रद्धालुहरूले पवित्र सालग्रामको दर्शन र उत्तरबाहिनी स्नानको सौभाग्य पाउँदा अपूर्व आनन्द र शान्ति महसुस गरेको बताएका छन्।

    महामेला तथा धर्मोत्सवका कारण पाल्पा, स्याङ्जा र आसपासका क्षेत्रहरूका हरेक घरबाट महामेलमा जाने गरेकाले यस क्षेत्रको धार्मिक चहलपहल अत्यन्त बढेको छ।

    आचार्य चैतन्य कृष्णले उत्तरबाहिनी क्षेत्रलाई “मिनी मुक्तिनाथ धाम”का रूपमा विकसित गर्न पहल गर्दै आएका छन् भने उत्तर बाहिनी क्षेत्रमा हाल गुरुकुल, आयुर्वेदिक अस्पताल, ध्यान तथा योग केन्द्र लगायतका धार्मिक तथा सामाजिक संस्थाहरू सञ्चालनमा छन्।

    उनले भने, “उत्तरबाहिनी केवल धार्मिक स्थल होइन, ज्ञान, विज्ञान, धर्म र मानवताको संगमस्थल हो। यहाँको धार्मिक तरङ्गले विश्वलाई शान्तिको सन्देश दिन्छ।”