२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • नयाँ वर्षसँगै गैडाकोटको मौलाकालीमा केबलकार सञ्चालन

    गैडाकोट -नवलपरासी पूर्व स्थित गैडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँ वर्ष २०८० को सुरुवातसँगै केबलकार सञ्चालनमा आएको हो ।

    ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार नयाँवर्षको अवसर पारेर सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए।

    गैडाकोट नगरपालिका वडा नम्बर ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए। केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन्।

    केबलकारको दुइतर्फी टीकटको मूल्य रु पाँच सय ५० कायम गरिएको छ।। केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि रु तीन सय ३०, विद्यार्थीका लागि रु चार सय १५, ज्येष्ठ नागरिकका लागि रु चार सय १५ र फरक क्षमता भएकाका लागि रु दुई सय ७५ को टिकट दर राखिएको छ। केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क सेवा दिने जनाएको छ।

    एउटा डब्बा ९गोन्डुला० मा एक पटकमा आठ जना यात्रु चढ्न सक्ने व्यवस्था रहेको केबलकारबाट पाँच मिनेटमा मन्दिर पुगिने छ। आईएमई समूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको केबलकार गैँडाकोट–१ धारापानीबाट चढ्ने र मन्दिर नजिक ओर्लने स्टेशन राखिएको छ।