दरबार संग्रहालयको लागि पहल गरिने

बुटवल -मणिमुकुन्द सेन उद्यानको ऐतिहासिक महत्व उजागर गर्ने र त्यहाँ थप संरचना थपि आकर्षक बनाइने भएको छ। मणि मुकुन्द सेन उद्यान संरक्षण समितिको १७ औ वार्षिक साधारण सभाले उद्यान अर्थात फूलबारी पार्कलाई अझ आकर्षक गराउने प्रस्ताव पारित गरेको हो।
उद्यानलाई पार्क हस्पिटालिटी सेन्टरको रुपमा विकास गर्ने योजना रहेको साधारण सभामा बताइएको थियो। उद्यानभित्र निर्माण भइरहेको कुडुलेबाट स्थानिय रैथाने परिकारको स्वाद पस्किने, मचान घर निर्माण गर्ने योजना अघि सारीएको उद्यान समितिले जनाएको छ। यस्तै पौडी पोखरी, झरना, झोलुंगेपुल, सिसाको पुल, सिस महल जस्ता संरचना निर्माण गरेर उद्यानलाई आकर्षक बनाउने योजना रहेको समितिका अध्यक्ष माधव नेपालले जानकारी दिए। पार्क महोत्सवको अवधारणा पनि अघि सारीएको उनले बताए।
उद्यान भित्र दरबार संग्रालय निर्माणका लागि पहल गरिने भएको छ। पाल्पाका तत्कालिन राजा मणिमुकुन्द सेनको सितकालिन दरबारको भगनावसेषको रुपमा रहेको दरबारलाई संरक्षण गर्ने र अर्को ठाउँमा दरबार संग्रालय निर्माण गर्न संघिय सरकार समक्ष पहल गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो। उद्यानमा मणिमुकुन्द सेनको सितकालीन दरबारको भगनावशेष रहेको छ। दरबार संग्रालय पुरातत्व विभाग मार्फत निर्माण सुरु हुने चरणमा रहेको उद्यानका अध्यक्ष माधव नेपालले जानकारी दिए।
साधारणसभाको उद्घाटन समारोहमा उद्यानका संरक्षक तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल उपमहानगरपालिकाको समग्र विकासमा फूलबारीको गरिमा र योगदानबारे चर्चा गर्दै यसलाई मनोरञ्जनात्कम पार्कका रुपमा मात्रै प्रचार गर्न नहुने बताए। ‘मणिमुकुन्द सेन उद्यान केबल मनोरञ्जनात्कम पार्क मात्रै होइन यो ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको प्राकृतिक विविधतायुक्त पर्यटकीय स्थल पनि हो ।’ उनले भने, ‘यसको संरक्षण र प्रचारप्रसारका लागि हामि सबै बुटवलबासी एकजुट भएर अघि बढ्नुपर्छ ।’ फूलबारी अहिलेको अवस्थामा आइपुग्न धेरैको रगतपसिना बगेको र पछिल्लो समयमा यसको विकासले आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरीरहेको श्रेष्ठको भनाइ छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मणिमुकुन्द सेन उद्यानको विकास र प्रचारप्रसारका लागि उपमहानगरले काम गरिरहेको बताए। यस्ता उद्यान तथा पार्कहरुले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने उनले उल्लेख गरे। नगर उपप्रमुख सावित्रादेवि अर्यालले बुटवल बजारलाई चलायमान बनाउने जिम्मा सबैको भएको बताइन्। राष्ट्रिय उद्यान महासंघका केन्द्रीय अध्यक्ष खेमप्रसाद लुइँटेलले मणिमुकुन्द सेन उद्यान बुटवलको पर्यटकीय गौरब भएको बताए। कार्यक्रममा उद्यानका सल्लाहकार निर्मल जिसी, बुटवल १–२ सामुदायिक वनका अध्यक्ष बाबुराम पौडेल लगायतले बोल्दै राष्ट्रको गहनाका रूपमा रहेको उद्यानलाई अझै सुन्दर बनाउन गुरुयोजना बनाएअनुसार पूर्वाधार विकासमा जोड दिन आग्रह गरे।
समितिका कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा उद्यानको आम्दानी ४ करोड १० लाख ३४ हजार भएको छ भने मनोरञ्जन कर, आयकर लगायत शीर्षकमा ४७ लाख रुपैयाँभन्दा बढी कर भुक्तानी गरिएको छ। अंग्रेज फौजलाई हराएका सेन वंशीय राजा मणिमुकुन्द सेनको शीतकालीन दरबारसमेत रहेको ऐतिहासिक र पुरातात्विक स्थल फूलबारीमा प्राकृतिक दृश्यावलोकन गरी मनोरम वातावरणमा रमाउन आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ। यहाँ प्राणी उद्यानका रुपमा मिनी चिडियाखाना, साहसिक खेल, मनोरञ्जन स्थल र सेल्फि पोइन्टहरु, विभूति, सहिद स्मारक, बाटिका तथा ढुङ्गेधारा, बगैँचा, पिकनिक, विवाह कार्यक्रम स्थल, कुडुलेघर तथा सन्चो बिसन्चो केन्द्रलगायतका पूर्वाधार रहेका छन्।
गत आर्थिक वर्षमा ५ लाख ४७ हजार १९९ जना आन्तरिक तथा बाह्य पर्यटकले उद्यानको अवलोकन गरेको महासचिव युवराज घिमिरेले जानकारी दिए। यसैबिच साधारणसभाका अवसरमा उत्कृष्ट कर्मचारीद्वय फूलकुमारी थारु र सुनिता विश्वकर्मालाई नगदसहित सम्मान गरिएको थियो। उद्यानको विकासमा योगदान दिने र सहयोग गर्ने बिभिन्न व्यक्ती तथा संघसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

