‘प्रदेशलाई देउ हामी चलाउँछौं भन्दा पनि दिएनन्, उनीहरु चलाउन पनि तयार छैनन्’

लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा ५ वर्ष देखी विद्युतीय बस र भ्यान अलपत्र अवस्थामा छन्। साढे दुई वर्ष अघि २०८० बैशाख ८ गते लुम्बिनी प्रदेश सरकारले विद्युतीय सवारीलाई हरियो प्लेटमा रुपान्तरण गर्न प्रक्रिया अघि बढाएको थियो। जस अन्तर्गत तत्कालिन मन्त्रिपरिषद बैठकले उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई नम्बर प्लेट परिवर्तन गर्न स्वीकृती प्रदान गर्योे। तर मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालयमा काम अघि नबढि फाइल रोकिएको थियो। पछि अदालतमा मुद्दा पर्यो। उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशपछि यातायात कार्यालयले विद्युतीय सवारीको नम्बर प्लेट परिवर्तन गरिसकेको छ। तर अदालतको आदेश आएको ७ महिना भन्दा बढि भइसक्दा पनि लुम्बिनीका विद्युतीय बस चलेका छैनन।
यसै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई हामीले ‘विद्युतीय सवारी चलाउन प्रदेश सरकारले के पहल गरिरहेको छ?’ भनेर सोधेका छौं ।
यस्तो छ मुख्यमन्त्री आचार्यको जवाफ
विद्युतीय बस चलाउने बारे पटक पटक मैले कुरा गरिरहेको छु। उनीहरु (लुम्बिनी विकास कोष)ले अगाडि बढाउन खोजिरहेका छैनन्। ‘तिमीहरुले चलाउन सक्दैनौ भने प्रदेशलाई देउ हामी चलाउँछौं ‘भन्दा पनि दिएनन्। उनीहरु आफूहरु चलाउन पनि तयार छैनन्। यी गाडीहरु ध्वास्त बनाउने भए भन्ने चिन्ता छ।
केही नभए भैरहवादेखी लुम्बिनीसम्म भएपनि चलाउन आग्रह गरे। उनीहरुले कुरा खाएनन्। पटक पटक कुरा हुँदा अब हामी चलाउँछौं भन्छन् कार्यान्वयन गरेनन् । लुम्बिनी विकास कोष हाम्रो मातहतको संस्था पनि परेन। विद्युतीय बस चलाउने बारे मैले अघिल्लो सरकारका प्रधानमन्त्री र पर्यटन मन्त्रीलाई कुरा गरिरहेकै हो। अहिले त्यसरी कुरा हुन पाएको छैन।

