
बुटवल बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलाबारीमा अहिले शैक्षिक भ्रमणमा आउने क्रम बढेको छ। कात्र्तिक १ गतेबाट मंसिरको पहिलो सातासम्म १८ हजार ३५९ जना विद्यार्थी शैक्षिक भ्रमणको लागि फूलबारी आएका छन्। विशेष गरि शुक्रबार र शनिवार शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप हुने मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका प्रमुख कार्यकारी अधिकृत अनन्त सिल्वालले बताए।
गत शनिवार मात्र २ हजार ४७२ विद्यार्थी उद्यान अवलोकनको लागि शैक्षिक भ्रमणमा आएका थिए। विद्यालयको नाम पारेर १० जना भन्दा बढि विद्यार्थीको समूहमा आएकालाई शैक्षिक भ्रमणको सूचीमा राखिने सिलवालले जानकारी दिए। शैक्षिक भ्रमणमा आउने क्रम पुससम्म रहने उनले बताए। दाङ, स्याङ्जा लगायत पूर्वका विभिन्न जिल्लाबाट विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गरेका छन्।
त्यसै गरि विद्यार्थी परिचयपत्र देखाएर कात्तिक सुरुदेखी मंसिरको पहिलो सातासम्म ३ हजार ७४ विद्यार्थी फूलबारी आएका उद्यानका लेखापाल अमित श्रेष्ठले जानकारी दिए। यो अवधिमा कुल ८० हजार ७०० जना फूलबारी पार्कको अवलोकन गरेका छन्। जसमा ११ हजार ३२८ जना भारतीय र ७ जना विदेशी पनि रहेका छन्।

