
भैरहवा सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स नेपाल (सोट्टो) लुम्बिनी प्रदेशको अध्यक्षमा सञ्जय बजिमय निर्वाचित भएका छन्। शनिवार भएको सोट्टो लुम्बिनीको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले बजिमयको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो।
बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी दीपक, उपाध्यक्ष सञ्जिव जोशी, महासचिव मनिस तामाङ, कोषाध्यक्षमा इर्थान वारिस, सचिव पदमा नविन न्यौपाने, सह कोषाध्यक्ष अम्बिका गुरुङ चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सन्तराम थारु, अलिनकुमार गुप्ता, सम्झना रेग्मी, अष्ट हुसेन श्रेष्ठ, जितबहादुर चौधरी, सिर्जना कार्की, निर्मला श्रेष्ठ, सुनिल अहमत मुशलमान, सन्तोष देव निर्वाचित भएको निर्वाचन समिति संयोजक बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए। संस्थाको विधान अनुसार निवर्तमान अध्यक्ष श्रीचन्द गुप्ता पनि कार्यसमितिमा रहने छन्। श्रीचन्दको कार्याकाल अघि पनि बजिमय सोट्टो लुम्बिनीको अध्यक्ष थिए।
अध्यक्षमा निर्वाचित बजिमयले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि अझ शसक्त तरिकाले लाग्ने बताए । ‘बाइरोड र बाइ एयर कनेक्टीभिटी हाम्रो मुख्य काम हो। स्थलमार्ग हुँदै आउने पर्यटकको सहजताको लागि हाम्रो संस्थाले काम सुरु गरिसकेको छ। भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान सुचारु गराउन र आन्तरिक उडानको सञ्जाल विस्तार गर्न पहल गर्ने छु।’ उनले बुद्ध परिपथसँग भने। त्यस अघि भएको उद्घाटन समाराहमा सहभागीहरुले पर्यटनको बिकासका लागि सवै व्यवसायी आपसी सहकार्यका साथ अगाडि बढ्नु पर्ने बताएका थिए।

