प्याकेजसहित प्रचार प्रसार र राष्ट्रियस्तरका सम्मेलनका पाहुनालाई भैरहवामा सहुलियतको घोषणा

भैरहवा -होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको बार्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। संगठनको सातौं अधिवेसनबाट निर्वाचित कार्यसमितिले नवलपरासीको त्रिवेणी धाममा कार्याशाला आयोजना गरि भावि कार्यक्रम तय गरेको हो। कार्यशालाले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सार्वजनिक गर्नुका साथै संगठनको उपसमितिहरु गठन गरेको छ।
कार्यशाला गोष्ठीमा संगठनका अध्यक्ष राजेश महोत्राले छलफलका लागि विभिन्न १५ वटा एजेण्डा प्रस्तुत गरेका थिए। गोष्ठीले भैरहवामा महाधिवेसन सभा सम्मेलन गर्न आउने संघ संस्थाहरुलाई विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको छ। सहुलियत प्रदानको लागि यहाँका स्थानिय तह र व्यवसायीक संघ संस्थासँग सहकार्य गरिने भएको छ। आन्तरिक पर्यटन प्रवद्र्धनको लागि अन्तरप्रदेश व्यवसायीक भ्रमण गर्ने महासचिव बालकुमार घिमिरेले जानकारी दिए। संगठनको तर्फबाट अन्य प्रदेशमा भ्रमण गर्ने र अन्य प्रदेशकालाई पनि रुपन्देहीमा निम्ता गरि स्वागत गर्ने उनले बताए।
यस्तै विभिन्न पर्यटकीय गन्तव्यहरुलाई समेटेर प्याकेज बनाइ प्रचार प्रसार गर्ने कार्यशालाले निर्णय गरेको छ। होटलको बर्गिकरण अनुसार प्याकेजको दर रेट तोक्ने निर्णय पनि गरिएको छ। प्याकेज सहित प्रचार प्रसारको लागि संगठनका उपाध्यक्ष नरेन्द्र खनाललाई संयोजक तोकिएको छ। कार्यशालाले पर्यटकको बसाइ लम्बाउने खालका गतिविधि गर्न मौलिक तथा संस्कृती झल्कने कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसको लागि महिला उपाध्यक्ष कल्पना न्यौपानेलाई संयोजक तोकेको छ।

सिद्धार्थ फूड फेष्टिभल आयोजना गर्ने, पर्यटन बोर्ड, पर्यटन विकास परिषदसँग समन्वय गरि तालिम, गोष्ठी र यात्रा भ्रमण लगायतका कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सञ्जाल मार्फत पर्यटनका गतिविधिहरु प्रचार प्रसार गर्ने कार्यक्रमहरु संगठनले तय गरेको छ। संगठनको लोगो राखेर भैरहवा लुम्बिनी, बुद्ध सर्किटमा रहेका पर्यटकीय गन्तव्यहरुको गाइड म्याप र फोटो बनाइ व्यवसायीक प्रतिष्ठानहरुमा सहुलियत दरमा उपलब्ध गराउने निर्णय पनि संघले गरेको छ।
कार्यशालाले अनुगमन तथा मूल्यांकन समितिको संयोजकमा संगठनका संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवालीलाई चयन गरेको छ। अनुशासन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष रामप्रसाद पोखरेल, प्रशासन उपसमितिको संयोजकमा महासचिव बालकुमार घिमिरे, तालिम तथा सेमिनार तर्फ उपाध्यक्ष गुणाकर गौतम र आर्थिक उपसमितिको संयोजकमा दलबहादुर थापालाई संयोजक तोकिएको छ।

