२०८२ फाल्गुन २३ गते, शनिबार १२:५७
  • भैरहवाको अन्तर्राष्ट्रिय उडानबारे दलको घोषणा पत्रमा के छ ?

    भैरहवा-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। घोषणपत्रमा पर्यटन र उड्यनका कुराहरु पनि समेटिएका छन्। सबैजसो दलका घोषणापत्रमा विमानस्थल र अन्तर्राष्ट्रिय उडान बारे पनि उल्लेख छ।

    उद्घाटन भएको साढे ३ वर्ष हुँदा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। भैरहवाको अन्तरौष्ट्रिय उडान बारे मुख्य दलहरुले पनि आफ्नो घोषणा पत्रमा केही उल्लेख गरेका छन्। नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा भैरहवाको विमानस्थललाई पूर्ण क्षमतामा चलाउन कुटनैतिक पहल गर्ने भनेको छ। ‘पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख देशबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरिय कुटनैतिक पहल गर्ने गछौं ।’ प्रतिज्ञापत्रमा लेखिएको छ।

    कांग्रेसले ६ महिना भित्र व्यवस्थापन सुदृढीकरण मार्फत जनताको ध्वजावाहकमा रुपान्तरण गर्ने उल्लेख गरेको छ।
    नेकपा एमालेको घोषणापत्रमा अन्तर्राष्ट्रिय विमानस्थललाई थप पूर्वाधार सहित आधुनिक र सुविधासम्पन्न बनाउने भनेको छ। नेपाललाई अहिलेसम्मको अन्तर्राष्ट्रिय उडानलाई सुविधाजनक बनाउन अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकसँग सहकार्य गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रमा भैरहवा विमानस्थललाई चलाउन विभिन्न शुल्कमा छुटको व्यवस्थालाई थप प्रभावकारी बनाउने भनिएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण सञ्चालनमा ल्याउन, विभिन्न शुल्कमा छुट्को व्यवस्थालाई थप प्रभावकारी बनाउन, ति विमानस्थललाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न, साथै भारतसँग प्रवेश निगर्मन तथा आइएलएस सञ्चालन बारे कुटनैतिक पहल गर्छौं। बाचापत्रमा उल्लेख छ।

    यस्तै नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रतिबद्धतापत्रमा भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार गरिने भनेर लेखेको छ। उसले एयरपोर्ट र विमान सेवा सुधार गरिने नेपाल एयरलाइन्स र नीजि एयरलाइन्सको प्राविधिक सुधार गरिने र युरोपियन युनियनको कालोसुची हटाइने भनेर लेखेको छ। यस्तै उम्मेद्वारहरुका स्थानिय घोषणापत्रमा पनि भैरहवा विमानस्थल बारे उल्लेख गरेका छन्।