२०८१ आश्विन २१ गते, सोमबार १३:१२
  • बुद्धजयन्तीको तयारी : बैशाख २२ गते लुम्बिनी र रामग्राम, २३ गते तिलौराकोटमा कार्यक्रम हुने


    लुम्बिनी– बैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती बुद्धजन्मस्थलसँगै वृहत्तर लुम्बिनी क्षेत्रमा पनि मनाइने भएको छ । वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत पर्ने बुद्धजन्मस्थल लुम्बिनीसँगै रामग्राम, देवदह र तिलौराकोटमा पनि बुद्धजयन्तीको कार्यक्रम गर्न लागिएको हो ।
    लुम्बिनी विकास कोषले आज पत्रकार सम्मेलन गरि अन्य बुद्धस्थलहरुमा पनि बुद्धजयन्ती मनाउन लागिएको जानकारी दिएको हो ।
    जस अनुसार बैशाख २२ गते लुम्बिनीसँगै नवलपरासीको रामग्राममा पनि बुद्धजयन्ती समारोह आयोजना हुने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराइले जानकारी दिए ।
    लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आथित्यतामा २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोह हुने छ ।
    विशेष समारोह अघि सो दिन विहान ६ बजेदेखी ८ बजेसम्म धार्मिक पूजा, ७ देखी ९ बजेसम्म पाँच नम्बर गेटबाट मायादेवी मन्दिर हुँदै अन्तराष्ट्रिय सम्मेलन केन्द्रसम्म विभिन्न झाँकी सहित शान्ति ¥याली निकालिने छ । ¥याली अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुगेपछि बुद्धजयन्ती समारोह हुने छ ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा कोषका अध्यक्ष सुदन किराँतीको अध्यक्षतामा हुने समारोहमा प्रदेशका मुख्यमन्त्री, संघ र प्रदेशका सांसदहरु, स्थानिय जनप्रतिनिधिसँगै विदेशी पाहुनाहरुको पनि सहभागीता हुने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
    बुद्ध जयन्तीकै दिन २२ गते नवलपरासी पश्चिमको पण्डितपुरदेखी रामग्रामसम्म अस्तुधातु यात्रा गरिने भएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुसिला श्रीपालीको प्रमुख आतिथ्यतामा रामग्राममा बुद्धजयन्ती समारोह हुने पत्रकार सम्मेलनमा बताइएको थियो ।
    यस अघि बुद्धको मावली देवदहमा १९ गते बौद्ध धर्मग्रन्थमा महत्वपूर्ण मानिने देवदह सुत्त र तीन बौद्ध नारी बिभुती परिचर्चा प्रवचन एवं बुद्धजयन्ती दिवस समारोह भएको थियो । कपिलबस्तुको तिलौराकोटमा बैशाख २३ गते बुद्धजयन्ती समारोह हुने छ।
    समारोह अघि मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा मायादेवी शोभायात्रा हुने छ ।
    बुद्धजयन्तीको अवसरमा दीप प्रज्वलन गर्न लुम्बिनी विकास कोषले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका र कपिलबस्तुको कपिलवस्तु नगरपालिकाहरुलाई आग्रह गरेको छ ।