२०८२ फाल्गुन २३ गते, शनिबार १३:००
  • बीटीटीएमका विद्यार्थीद्वारा भैरहवामा अन्तर्राष्ट्रिय उडानको अवलोकनसहित अन्तरक्रिया

    भैरहवा– लुम्बिनी बौद्ध विश्वविद्यालयमा व्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम)का विद्यार्थीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन्। विश्वविद्यालय अन्तर्गत सीटी क्याम्पस बुटवलका विद्यार्थीहरु प्रयोगात्मक अध्ययन र फिल्ड भिजिटका लागि बुधबार भैरहवा पुगि आन्तरिक तथा अन्तराष्ट्रिय उडानबारे अवलोकन र अन्तरक्रिया गरेका हुन्।

    अन्तरक्रियाका क्रममा विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले अहिले सातामा दुईवटा अन्तर्राष्ट्रिय उडान भइरहेको र आगामी दिनमा थप उडानका लागि समन्वय र प्रयास भइरहेको जानकारी दिए। उनले थप अन्तर्राष्ट्रिय उडानको लागि यहाँका निजी क्षेत्र र पर्यटन व्यवसायीको पनि भूमिका आवश्यक हुने बताए। सीटी क्याम्पस बुटवलका सहायक प्राध्यापक अरुण सिंहले पर्यटन र हवाइ उडानको सम्बन्धमा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्न उडानको अवलोकनसहित अन्तरक्रिया गराइएको जानकारी दिए।

    बुधबार मध्यान्न बैंककबाट आएको थाइ एयर एशियाको जाहाज भैरहवामा अवतरण गरेको थियो। जहाज अवतरणको अवलोकन गराउँदै विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बैंककबाट आउने यात्रु केही कम भएपनि भैरहवाबाट प्रस्थान गर्ने यात्रुको संख्या राम्रो रहेको बताए।

    अवलोकनको क्रममा विमानस्थलका उडान प्रक्रिया र विमानस्थलको प्रशासनिक पक्ष बारे अधिकृत शिव रिजालले बताएका थिए। बरिष्ठ सहायक तारकेश्वर गुप्ताले प्राविधिक पक्षबारे जानकारी दिएका थिए। अवलोकन र अन्तरक्रियाका क्रममा १८ जना जति विद्यार्थी सहभागी थिए। उनीहरुले उडानको अवस्थाबारे चासो राख्दै भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान होस् भन्ने चाहेको बताएका थिए।