
लुम्बिनी– लुम्बिनीका विद्युतीय बस सञ्चालनमा आएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको निर्देशन र संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पत्र प्राप्त भएपछि लुम्बिनीमा लामो समयसम्म अलपत्र परेका विद्युतीय बस बुधबारबाट चल्न सुरु भएको हो।
जस अनुसार अहिले दुई वटा रुटमा बस चलाइने लुम्बिनी विकास कोषका प्रशासकिय अधिकृत चुडामडी भट्टराईले बताए। ‘एउटा बस विहान बेलहिया गएर आयो। अर्को तिलौराकोट र कुदान जाँदैछ।’ उनले भने ‘अहिले दुईवटा रुटमा मात्र चल्ने छ। एउटा लुम्बिनी एयरपोर्ट बेलहिया र अर्को लुम्बिनी तिलौराकोट कुदान रुट तय गरिएको छ।’
लुम्बिनीको पार्किङमा रहेको विद्युतीय बसको चार्जिङ स्टेसन पनि विग्रेको थियो। सरकारको निर्देसनपछि मंगलबार राती चार्जिङ स्टेसन बनाएर बस सञ्चालन गरिएको हो। विद्युतीय बस चलेपनि लुम्बिनी विकास कोषले तत्काललाई यात्रुबाट भाडा उठाउने छैन। तर यात्रुले स्वेच्छाले दानबाकसमा रकम राख्न सक्नेछन्। भाडादर निर्धारण गरेर लिने तयारी गरिएको प्रशासकिय अधिकृत भट्टराइको भनाइ छ।
लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले यो साता भित्र सबै बस सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए। उनले कार्यविधि बनाएर लुम्बिनीबाट रामग्राम, देवदह तिलौराकोट रुटमा विद्युतीय बस चलाइने बताए।

