२०८३ बैशाख १० गते, बिहीबार २०:१४
  • नयाँ वर्षको अवसरमा भैरहवामा रैथाने सडक खाना महोत्सव हुने

    भैरहवा – नयाँ वर्ष २०८३ अवसरमा भैरहवामा रैथाने सडक खाना महोत्सव हुने भएको छ। होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रूपन्देहीको आयोजनामा चैत्र ३० गते सिद्धार्थ रंगशालामा खाना महोत्सव आयोजना गरिएको हो।

    यहाँका मौलिका खानाहरुको प्रवद्र्धन गर्ने र बेलहियाबाट आउने पर्यटकहरुलाई एक दिन भएपनि बसाइ लम्बाउने उदेश्यले रैथाने सडक खाना महोत्सवको आयोजना गरिएको संगठनका अध्यक्ष राजेश महोत्राले जानकारी दिए। महोत्सवमा थारु, मगर, नेवारी, गुरुङ मधेशी समुदायका लगायतका विभिन्न रैथाने खानाका परिकार राखीने छन्। रैथाने खानाका साथै ठूला तारे होटलहरुका स्टल पनि सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। महोत्सवले भैरहवालाई फुड हबको रुपमा चिनाउन सघाउ पुग्ने संगठनका अध्यक्ष महोत्राको भनाइ छ ।

    पाँचौं संस्करणको रुपमा आयोजना गरिएको खाना महोत्सवमा सय वटा स्टल सहभागी हुने छन्। चैत्र ३० गते साँझ ५ बजेदेखि राती १२ बजेसम्म खानाका परिकारका साथै सांगितिक कार्यक्रमबाट दर्शकहरुलाई मनोरञ्जन दिने पत्रकार सम्मेलनमा बताइएको थियो। खाना महोत्सवमा ३० हजार अवलोकनकर्ताको सहभागीता रहने र १ करोड बढिको कारोबार गर्ने अपेक्षा राखिएको संगठनले जनाएको छ ।

    सुलभ मूल्यमा परिकार उपलब्ध गराउनका लागि सवै स्टलमा खानाको मूल्यसूचि अनिबार्य रुपमा राख्नु पर्ने र यस वारेमा अनुगमन गर्न समिति गठन गरिएको छ।

    खाना महोत्सवले भैरहवाको पर्यटन प्रवद्र्धनका साथै व्यवसाय चलायमान गर्न सघाउ पुग्ने संगठनका महासचिव बालबहादुर घिमिरे (सुनिल)ले बताए। सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले खाना महोत्सव सफल पार्न सबै व्यवसायीको सहयोग र सहकार्य आवश्यक भएको बताए।

    सो अवसरमा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्ष चन्द्रबहादुर थापा, होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन लुम्बिनी प्रदेशका महासचिव गणेश बेल्बासे, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिमबहादुर खत्री, सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष राजन रसाइली, संगठनका बरिष्ठ उपाध्यक्ष लीलाधर भट्टराई लगायतले बोल्दै खाना महोत्सव सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।