
बुटवल -नयाँ वर्षको अवसरमा नुवाकोट महोत्सव पनि आयोजना भएको छ। महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिले निजी क्षेत्रको पहलमा एतिहासिक ठाउँमा लगानी भएको भन्दै यसको अझ प्रचार प्रसार हुनुपर्ने बताए।
नुवाकोट विकास समितिका अध्यक्ष पिएल श्रेष्ठले यहाँको पर्यटकीय विकासको लागि गुरुयोजना अनुसार अघि बढेको जानकारी दिए। प्रदेस सभा सदस्य भोजप्रसाद श्रेष्ठले पूर्वाधार बनेर सकेमा यहाँ थुप्रै स्वेदशी तथा विदेशी पर्यटक भित्राउन सकिने उल्लेख गरे। कर्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, नुवाकोट विकास समितिका निवर्तमान अध्यक्ष माधव नेपाल लगायतले नुवाकोटको ऐतिहासिक महत्व बारे चर्चा गरेका थिए।
२ दिने महोत्सवमा मौलिक खानाका स्टलहरु राखिएको छ। सांस्कृतीक डबलीमा आयोजित महोत्सवमा विभिन्न कलाकारहरुले सांंगितिक प्रस्तुती प्रस्तुत गरेका थिए।
बुटवलको नुवाकोटमा नयाँ वर्ष मनाउनेहरुको भिडभाड थियो। नुवाकोट जानको सिद्धार्थ केबलकारको बटम स्टेसन देउराली डाँडामा लामो लाइन थियो।

अपरान्ह तिर अझ भिड बढेको सिद्धार्थ केबलकार प्रालिका प्रबन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो। नुवाकोटको भैरब कामना मन्दिर र नुवाकोटगढी, भ्युटावर लगायतका क्षेत्रमा अवलोकनकर्ताहरुको दिनभर चहलपहल थियो। नुवाकोटबाट फर्किनेहरुको पनि टप स्टेनमा लाइनमा बसेर केहीबेर पालो पर्खिनुपर्ने अवस्था थियो।

