किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृतको लागि पहल गर्छु ; मुख्यमन्त्री आचार्य

बुटवल–बुटवलमा सोमबार जितगढी उत्सव मनाइएको छ। २ सय १ वर्ष अघि अंग्रेजसँगको लडाइमा नेपालले विजय हासिल गरेको सम्झनामा जितगढी विजयउत्सव मनाइएको हो। वि.सं. १८७२ वैशाख ७ गते कर्नेल उजिरसिंह थापाको कमाण्डमा रहेको नेपाली सेनाले आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई पराजित गरेको थियो। अंग्रेज माथि जित हासिल गरेको सम्झनामा यो ठाउँलाई जितगढी भन्ने गरिएको छ।
जितगढी उत्सव समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको जानकारी दिए। किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन आफू निरन्तर रुपमा लागेको उनले उल्लेख गरे। ‘यसलाई राष्ट्रिय सम्पदाका रूपमा सूचिकृत गर्ने र जीतगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग पहल भइरहेको छ’, मुख्यमन्त्री आचार्यले भने, ‘आगामी दिनमा पनि प्रदेश सरकारका तर्फबाट निरन्तर प्रयास रहनेछ ।’
उनले जीतगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने उल्लेख गरे। ‘कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो,’ उनले भने।
बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष जीतगढी विजय उत्सव मनाइने गरिएको छ। समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवद्र्धन तथा वीरताको इतिहासलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखिएको बताए।
लेखक तथा अध्यता देवेन्द्रराज शाक्यले जीतगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएका थिए। युद्धमा उजिरसिंह थापा को नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अंग्रेज फौजलाई पराजित गरेको शाक्यले बताएका थिए। इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए। समारोह अघि गोरखाबाट आएको नेपाली सेनाको पदयात्राको टोलीलाई स्वागत गरिएको थियो।

