२०८३ बैशाख २१ गते, सोमबार १७:३७
  • गत अप्रिलमा एक लाख ७ हजार बढी पर्यटक नेपाल भित्रिए

    काठमाडौं– सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् गत अप्रिलमा विदेशी पर्यटक आगमन संख्या एक लाख ७ हजार ९३४ रहेको छ।

    सैबभन्दा बढी भारतबाट २५ हजार १९६ पर्यटक नेपाल आएका छन्। दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट ५ हजार २३१ पर्यटक आएका छन्।

    सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक आएका थिए। कोरोना महामारी अघि सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए।

    नेपालको पर्यटनको लागि भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ भने अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको छ। यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ।

    क्षेत्रगत रूपमा हेर्दा सार्क राष्ट्रका गत महिना ३३ हजार ४३२ पर्यटक नेपाल आएका छन्। जुन कुल आगमनको ३१ प्रतिशत हो। त्यसपछि दक्षिण एसियाबाहेक एसियाली राष्ट्रबाट २६ हजार ७ २६ पर्यटक भित्रिएका छन्। युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट एक हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् ।

    पछिल्लो समय पश्‍चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायतका कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको देखिन्छ। नेपालमा पर्यटक संख्यामा वृद्धि गर्नका लागि डिजिटल मार्केटिङ, तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप योजना, कार्यक्रम र रणनीतिहरु आवश्यक छ।