
पोखरा– आगामी सेप्टेम्बर २३ अर्थात असोज ७ गतेबाट फ्लाई दुबईले पोखरामा उडान गर्दैछ। प्रत्येक दिन साँझ दुबई पोखरा दुबई उडान हुने छ। दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएपछि पोखरामा उत्साह छाएको छ। उडानलाई निरन्तरता दिने खालका कार्यक्रमहरु गर्ने पोखराका पर्यटन व्यवसायीको तयारी छ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले उडान सुरु भएपछि खाडी राष्ट्रहरुमा प्रवद्धनात्मक कार्यक्रम गर्ने बुद्ध परिपथलाई बताए। ‘उडानलाई निरन्तरता त्यहाँका पर्यटक पोखरा आउने, यहताका पनि उता जाने अवस्था बन्नुपर्छ। त्यसको लागि बीटुबी कार्यक्रम आवश्यक हुन्छ।’ उनले भने ‘उडान सुरु भएपछि दुबईमा बीटुबी कार्यक्रम गर्न पहल गर्छौं। अरु खाडी राष्ट्रलाई लक्षित गरेर दुई तिनवटा ठाउँमा पोखराको प्रवद्धनात्मक कार्यक्रम गछौं।’
विदेशमा भएका नेपालीहरुलाई गण्डकी प्रदेश ओर्लियौं भन्ने अभियान सञ्चालन गर्ने पहारीले जानकारी दिए। पोखराको अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरि खाडि राष्ट्रमा प्रवद्र्धनात्मक कार्यक्रम राख्न पर्यटन बोर्डलाई अनुरोध गरिरहेको उनले सुनाए। पोखरा छेन्दु चार्टर उडान हुँदा यस अघि पनि पोखराका पर्यटन व्यवसायीहरुले सिचुवानमा कार्यक्रम गरेका थिए। ‘हामीले चिनको सिचुवानमा पनि एउटा विटुबी कार्यक्रम गर्यो। पोखरा नाइट भनेर आयोजना गरिएको कार्यक्रममा सास्कृतिक प्रस्तुतिहरु देखायौ। त्यस्तै कार्यक्रम खाडी राष्ट्रमा गर्दा उडानको निरन्तरताको लागि प्रभावकारी हुन्छ।’ पहारीले भने।
पोखराका पर्यटन व्यवसायी, महानगरपालिका लगायतको निरन्तरको सम्बाद र पहलबाट पोखरामा दैनिक अन्तर्राष्ट्रिय उडान हुन लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष पहारीले बताए। पोखरामा अहिले साताको एक पटक हिमालयन एयरलाइन्सले ल्हासा उडान गरिरहेको छ। यस अघि सिचुवान एयरलाइन्सले पोखरा छेन्दु केही चार्टर उडान गरेको थियो। आगामी असोजबाट हुन लागेको दैनिक अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन पोखराका पर्यटन व्यवसायीहरुले पहल गरिरहने पहारीको भनाइ छ।

