२०८३ असार १६ गते, मंगलवार ००:५४
  • बुटवलमा साइकिल पर्यटनको सम्भावना

    बुटवल– बुटवलमा चार लेन र ६ लेनका फरालो सडक रहेका छन्। जसले गर्दा यी सडकहरु साइकल यत्राको लागि पनि सहज भएको छ। अहिले बुटवल गोलपार्कबाट योगिकुटीसम्म फराकिलो सडकमा सरर साइकिल चढेर यात्रा गर्न सकिन्छ । राजमार्गको सर्भिस लेन र सडकको किनारबाट दुई पांग्रे साइकल चलाउन विगत भन्दा अहिले धेरै सजिलो भएको छ।

    यसमा साइकिल लेन छुट्याउने हो भने अझ सुरक्षित हुने रुपन्देही जिल्ला साइकिल संघका पूर्व अध्यक्ष पुकार थापा बताउँछन । ‘गोलपार्कदेखी योगिकुटीसम्म साइकिल लेन बनाउने पहिले पनि कुरा उठेको हो। कालिकानगरको राजमार्गमा १० लाखको बजेट परेको हो । तर सडक विस्तार नसकिएकाले योजना अघि बढेको थिएन।’ उनले भने ‘गोलपार्कसम्म सडक विस्तार सकियो भने साइकिल लेन बनाउने हो । सर्भिसलेनको ३ देखी ५ फूट भयो भने साइकिल लेन छुट्याउन सकिन्छ। साइकिल चलाएर बुटवलका विभिन्न गन्तव्यहरु घुम्न सकिन्छ।’

    जितगढी, फूलबारी’ बटौली साइकिल चलाएर घुम्न सकिन्छ । बटौलीबाट गणेशथान निस्किएर सिद्धबाबा, हिलपार्क लगायतका ठाउँमा साइकिलमै पुग्न सकिन्छ। यस्तै बुटवल १२ को बन क्षेत्र, सिवनगर सामुदायीक बन क्षेत्रदेखी चरंगेसम्म साइकिल चढेर हरियाली र शान्त वातावरणको अवलोकन गर्न सकिन्छ।

    चुरेको काखमा रहेको बुटवलमा वरपरको डाँडाहरुमा साइकिल मार्ग बनाउने हो भने थप पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । बुटवलको शिवनगर सामुदायीक बन क्षेत्रबाट हिलपार्क, लक्ष्मीनगर हुँदै चुरेको किनारै किनार सिद्धबाबा क्षेत्रसम्म साइकिल चलाएर पुग्न सकिन्छ । त्यस्तै तिनाउ पारी बुटवल मावि माथी, फूलबारी भन्दा माथिको चुरे हुँदै बेलबास क्षेत्रसम्म चुरे किनारमा घुम्न सकिने गरि साइकिल मार्ग बनाउन सकिन्छ । यसबाट पर्यटकहरुले बुटवल शहर र तराइका फाँट नियाल्दै साइकिल यात्रा गर्न सक्छन्।

    बुटवल उपमहानगरपालिको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नुवाकोटसम्म पैदल मार्ग र साइकिल लेन बनाउन बजेट विनियोजन गरेको छ । अहिले बुटवल माबि पछाडीबाट नुवाकोट जाने पैदलमार्ग छ । पैदलमार्गसँगै साइकिल लेन बनेमा साइकिल मार्फत पनि नुवोकोट क्षेत्रको प्रवद्र्धन हुन्छ । उकालो सडक भएको हुँदा केही ठाउँमा चलाएर केही साइकिल बोकेर नुवाकोट पुग्ने अथवा केबलकार मार्फत नुवाकोट जाने र झर्दा ओरालो बाटोमा साइकिल चलाएर झर्न सकिने साइकिल अभियान्ता पुकार थापा बताउँछन्।

    बेलबास बेथरी ४ लेन सडकको करिब ८ किलोमिटर जति बुटवल उपमहानगरपालिकामा पर्दछ । जसमा ४ लेन सडक सहित दुबै तर्फ साइकिल लेन पनि बनेको छ । सडक विस्तार पूर्ण रुपमा सम्पन्न भएर सञ्चालनमा आएपछि यो सडकमा साइकिल पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ । बेलबास बेथरी सडक हुँदै साइकिल मार्फत बुटवलबाट लुम्बिनी यात्रा गराउन सकिन्छ।

    बुटवल उपमहानगरपालिकाले तिनाउ किनारमा ड्याम बनाएर डुंगा संचालन तथा जल विहार गर्ने योजना बनाएको छ । साथै तिनाउ किनारलाई सजाएर पर्यटक आकर्षित गर्ने नीति कार्यक्रम तथा बजेटमा उल्लेख छ । यसो भएमा तिनाउ किनारमा साइकिलमा चढेर यात्रा गर्न पनि रमाइलो हुने छ । विगतमा राइड टु रानीमहल साइकिल बुटवलदेखी रानीमहलसम्म साइकिल यात्राको आयोजना गरिएको थियो । ४ वर्षसम्म लगातार साइकिल यात्रा आयोजना गरेको साइकिल संघ रुपन्देहीका पूर्व अध्यक्ष पुकार थापाको भनाइ छ। बुटवलबाट पाल्पाका पहाडी गन्तवय पुग्ने गरि साइकिल पर्यटनलाई प्रवद्र्धन गर्न सकिने उनी बताउँछन्। बुटवलमा पहाड र समथर ठाउँ भएकाले साइकिल पर्यटनको सम्भावना राम्रो भएको थापाको भनाइ छ । साइकिल पर्यटनको पूर्वाधारहरु बन्यो प्रवद्र्धन गर्न सकियो भने विदेशीहरुलाई पनि आकर्षित गर्न सकिने उनले बताए ।