२०८१ आश्विन २१ गते, सोमबार १५:०९
  • बुटवलको फूलबारीमा स्काई साइक्लिङ

    बुटवल- बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा ‘स्काई साइक्लिङ’ सुरु भएको छ। ३२ फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरसम्म ७५ मिटर स्काई साइक्लिङ गर्न सकिन्छ। एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन्। लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आइतबार बिहान साइक्लिङको उद्घाटन गरेका हुन्।

    मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेलले ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको ऐतिहासिक क्षेत्र मणिमुकुन्द उद्यान (फूलबारी) मा साइक्लिङको सेवा शुभारम्भले बुटवलको पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    यस्तै, मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद्का प्रमुख कार्यकारी अधिकृत अनन्तराम सिलवालले अबको १० दिनसम्म परीक्षणका रूपमा सेवा सुरु गरिएको बताउँदै खासगरी आन्तरिक तथा भारतीय पर्यटक साइक्लिङका लागि आउने विश्वास व्यक्त गरे। उनले साइक्लिङका लागि प्रति व्यक्ति तीन सय रुपियाँ लाग्ने बताउँदै एक पटकमा दुई जनाले साइक्लिङ गर्न सक्ने जानकारी दिए ।

    करिब ३५ लाख रुपियाँ लगानी गरी सेवा शुभारम्भ भएको हो। प्रमुख कार्यकारी अधिकृत सिलवालले स्काई साइक्लिङ जोखिमको रुपमा समेत लिइने भएकोले दिर्घरोगी तथा मुटुका रोगीले भने साइक्लिङ गर्दा विचार पुर्‍याउनुपर्ने बताए ।

    विक्रम संवत् १५७५ मा निर्मित सेनवंशीय राजा मणिमुकुन्द सेनको दरबारको भग्नावशेष फूलबारी घुम्न आउने पर्यटकहरूको मुख्य आकर्षण बनेको छ । १२ बिघा क्षेत्रफलमा फैलिएको मणिमुकुन्द सेन उद्यान भित्र पशुपन्छी संरक्षणका लागि चिडियाखाना रहेको छ ।